रूद्रकली र खगेन्द्रप्रसाद कतार हिँडे

न्युजलय ३० मङ्सिर २०८२, सोमबार ०९:०७ मा प्रकाशित

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जका दुई हात्ती रुद्रकली र खगेन्द्रप्रसादलाई सोमबार विदाइ गरिएको छ । 

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तसहितले दुई हात्तीलाई सौराहाबाट विदाइ गरेका हुन् ।

नेपाल सरकारका तर्फबाट कतारलाई उपहारस्वरूप ६ वर्षको भाले हात्ती खगेन्द्रप्रसाद र ७ वर्षकै पोथी हात्ती रुद्रकली पठाउन लागिएको हो ।

२०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने बाचा गरेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहा कार्यालयबाट रत्ननगरको बेल्सी पुलसम्म हिँडाएर ल्याएर हात्तीलाई खोरसहित ट्रकमा राखेर रुपन्देहीको भैरहवा विमानस्थल लगिनेछ । हात्तीलाई भैरहवामा भोलि एक दिन राखिनेछ ।

कतार पठाउन लागिएका दुवै हात्ती चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका हुन् ।