इटहरी । कलालय इटहरीले प्रस्तुत गरेको नाटक शत्रु शिलापत्र डट कमको अनलाइन सर्वेक्षणमा साल २०८० को उत्कृष्ट नाटकभित्र परेको छ । विधाविज्ञको रायमा मनोनयन गरिएका १० नाटकको सूचीबाट पाठकको मतका आधारमा शत्रु उत्कृष्ठ पाँच भित्र परेको हो ।
१५ चैतदेखि १० दिनको समय राखेर शिलापत्रले विभिन्न विधामा भर्चुअल्ली मत हाल्न पाउने गरी फारम राखेको थियो । वर्षपुस्तकका साथै एक एक वर्षव्यक्ति, वर्षकलाकार, वर्षखेलाडी, वर्षकार्टुनिस्ट, वर्षसिनेमा र वर्ष नाटकका साथै १५ समाचार निर्मातालाई मत दिन पाउने व्यवस्था मिलाइएको थियो । जसमा कलालय लोकप्रिय नाटकमा उत्कृष्ठ पाँच भित्र परेको हो ।
विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित कथालाई नाट्य रूपान्तरण गरेर कलालयले इटहरी र भारतको पश्चिम बङ्गालमा देखाएको थियो । शत्रु नाटकमा मानिसभित्रको नकारात्मकता र शंका कसरी हावी हुन्छ भन्ने चित्रण गरिएको छ । नाट्यकर्मी प्रज्वल पराजुलीको निर्देशनमा तयार भएको नाटकमा कलालय इटहरीका युवा कलाकारहरुको अभिनय थियो ।
पहिलोपटक ‘दोस्रो अन्तरदेशीय साझा रङ्गमञ्च २०८०’का अवसरमा २१ कात्तिकमा नाटक शत्रु प्रदर्शन गरिएको थियो । दर्शकहरूको माग भएपछि कलालयले गत पुस २ देखि ६ सम्म नाटक प्रदर्शन गरेको थियो । जसमा इटहरी र आसपासका सयौंं दर्शकले नाटक हेरेका थिए । यस्तै गएको पुस ११ देखि १५ सम्म भारतको पश्चिम बङ्गालमा आयोजित नाट्य उत्सवमासमेत शत्रु प्रदर्शन गरिएको थियो । नाटकले त्यहाँ पनि दर्शकहरुको मन जितेको कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले बताए ।
नाटकमा प्रज्वल दुलाल, विकास श्रेष्ठ, डेभिड विष्ट, करण प्याकुरेल, आशिष पुरी, सक्षम किराँती, नीतिका घिमिरे, जेम्स श्रेष्ठ, र अविन ठटालले अभिनय गरेका छन् ।
'शिलापत्र वर्षनाटक २०८०' भने नाटक ‘दमिनी भीर’ चुनिएको छ । समता फाउन्डेसन र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको संयुक्त निर्माणमा यो नाटक मण्डला नाटक घरमा प्रदर्शन गरिएको थियो । पाँच मध्ये अन्य तीन उत्कृष्ठ नाटकमा थ्रिलर, मासिन्या र गंगालाल परेका छन् ।