काठमाडौ । काँग्रेस नेता मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ । उनलाई शुक्रबार अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।
अस्पतालमा आलमलाई आईसीयूमा राखेर उपचार गरिरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
आइसियुमा आलम रौतहटकै राजपुर घटनाबारे बोलिरहेको बताइएको छ । ‘मान्छे मारेकै हो, भनेर बरबराइरहनु भएको छ,’ अस्पताल स्रोतले जानकारी दिएको छ ।
पूर्वमन्त्रीसमेत रहेका आलमलाई उच्च अदालत, जनकपुरको वीरगन्ज इजलासले बुधबार सफाइ दिएको थियो ।
रौतहट जिल्ला अदालतको फैसलाअनुसार जन्मकैदको सजाय भुक्तान गरिरहेका आलमसहित ४ जनालाई उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले सफाइ दिएको हो।
२०६४ सालमा रौतहटमा बम बनाउने क्रममा विष्फोट हुँदा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टीमा हालेर मारेको आरोप छ । आलमले आतंक मच्चाउन आफ्नै घरमा बम बनाउन लगाएका थिए । विष्फोट भएपछि पोल खुल्ने डरले मान्छेलाई जिउँदै जलाएर मारेको बताइएको छ । तर उच्च अदालतले भने उक्त घटना भएको हो भन्ने तथ्ययुक्त प्रमाण नदेखिएको तर्क गरेकोछ ।
उक्त घटनाको १२ वर्षपछि २०७६ सालमा मात्र उनी पक्राउ परेका थिए। तर उच्चको फैसलापछि रिहा भएका उनी मस्तिष्कघातका कारण २ दिनपछि नै अस्पताल पुगेका हुन् ।