देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

न्युजलय २ कार्तिक २०८१, शुक्रबार ०३:१० मा प्रकाशित

काठमाडौँ । बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले कात्तिक २ र ३ गते ५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी कार्यक्रम गरिने जनाएको छ ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसकाबारेमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।