इटहरी । नेपाल चलचित्र निर्देशक समाजको आयोजनामा जातिय विभेद विरुद्धको लघु चलचित्र निर्माण प्रतियोगितको उत्कृष्ट २० मा ‘देउतालाई नचढ्ने फुल’ पर्न सफल भएको छ । नेपाल चलचित्रकर्मी महासंघको प्रस्तुतिमा निर्माण भएको लघु चलचित्र ‘देउतालाई नचढ्ने फुल’लाई प्रकाश सुब्बाले निर्देशन गरेका हुन् ।
जतिय विभेदको उत्कृष्ट कथा प्रस्तुत गरेको लघु चलचित्र ‘देउतालाई नचढ्ने फुल’को कथा तथा छायांकन पनि निर्देशक सुब्बाले नै गरेका हुन् ।
भगावानको मुर्ती दलितले निर्माण गर्छ तर त्यही मुर्तीलाई कुनै स्थानमा हस्तान्तरण गरिसकेपछि दलितले छुन समेत नपाउने कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ । बिशेष गरी एक बालिकाले जातिय बिभेदको बिरोध गरेको कथालाई चलचित्रले उत्कृष्ट शैलिमा प्रस्तुत गरेको छ।
३ मिनेट १ सेकेण्डको लघु चलचित्रमा रितेशजंग खत्री, दिनेश कोइराला, अन्जना थापा, सरिता खवास, मधु कोइराला, उमेश घिमिरे, स्याम लुइटेल लगायतका कलाकारहरुको अभिनय रहेको छ भने बाल कलाकारका रुपमा नासाङ लिम्वुले उत्कृष्ट अभिनय गरेकी छन् । चलचित्रको सम्पादन हेमन्त तामाङले गरेका हुन् ।
नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँगको सहकार्यमा जातीय विभेदविरुद्ध लघु चलचित्र निर्माण प्रतियोगिता आयोजना गरेको थियो । निर्देशक समाजका महासचिव जनकदीप पराजुलीका अनुसार ६ सदस्यीय निर्णायक समूहले जातीय विभेद र उन्मुलनलाई कलात्मक शैलिमा प्रस्तुत गर्ने उद्देश्य सहित २० लघु चलचित्रलाई प्रारम्भिक चरणमा छनौट गरेको हो।
उत्कृष्ट २० मा पर्न सफल लघु चलचित्रहरुलाई अपलोड गरिएको मितिले दुइ हप्तासम्म दर्शकको अवलोकनका लागि सामाजिक सञ्जालमा राखिएको छ । चलचित्रले पाउने भ्युज तथा प्रतिक्रिया एवम् निर्णायकको निर्णयका आधारमा विजेता चलचित्रको घोषणा गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा पहिलो हने लघु चलचित्रले नगद २ लाख रुपैंया, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार रुपैंया प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।