विदेशी पाहुना सहभागि गराएर इटहरीमा इष्टर्न ट्राभल मार्ट सुरु

न्युजलय २६ जेठ २०८१, शनिवार ०८:५४ मा प्रकाशित

इटहरी । पर्यटन प्रबद्र्धनको क्षेत्रमा लामो समयदेखि क्रियाशील रहने केही व्यक्तिहरुलाई सम्मान गर्दै इटहरीमा इष्टर्न ट्राभल मार्ट सुरु भएको छ । 


सोल्टी होटेलमा भएको कार्यक्रममा कोशी प्रदेशका पर्यटन मन्त्री मुख्यमन्त्री हिक्मत कार्की, नारायण मगर बुर्जा तथा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले पर्यटन विकासको वातावरण बनाउने प्रतिबद्धता जनाए ।


नेपाल तथा भारतका पर्यटन व्यवशायीहरुको सहभागिता रहेको कार्यक्रममा खासगरी भन्सारको अवरोध र पालिकै पिच्छेको पार्किङ र प्रवेश शुल्कको व्यवशायीहरुले विरोध गरेका थिए । त्यसका साथै राज्यले पुर्वाधार निर्माणमा ध्यान दिन नसकेको, कतिपय नीतिहरु अव्यवहारिक रहेको बताएका थिए ।


मार्टको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले पर्यटनको विकास राष्ट्र निर्माणको लागि आवश्यक भएकोमा जोड दिएका थिए । पर्यटनको लागि पूर्वाधार विकास गर्न सरकार लागि परिरहेको बताउँदै उनले योजनाबद्ध हिसाबमा काम गर्न पर्यटन व्यवसायीलाई आग्रह गरे । 

 

मार्टले नेपालका पर्यटकीय गन्तव्यका साथै यहाँका पुर्वाधारहरुको प्रबद्र्धन गर्ने र विदेशीहरुलाई आकर्षित गर्न पुलको काम गर्ने मार्टका संयोजक भविशकुमार श्रेष्ठले बताए । यसपटकको कार्यक्रम पर्यटन व्यवशायी लक्षित भएकोले कार्यक्रमले पुर्वी नेपालमा पर्यटकको चहलपहल बढाउने विश्वास व्यक्त गरे । स्वदेशी तथा विदेशी पर्यटन व्यवसायीहरू बिच सूचना व्यापार र समझदारी बनाउँदै देशीय तथा अन्तर देशीय व्यवसायी प्याकेजहरूमा सहमति सम्झौता समेत हुने उनले बताए ।


सन् २०१८ देखि सुरु भएको मार्ट कोरोना महामारीको कारण बिचमा स्थगित भएर यस पटक चौथो संस्करण गरिएको सचिव वासुदेव बरालले जानकारी दिए । 


कार्यक्रमका अवसरमा लामो समयदेखि पर्यटन विकासको क्षेत्रमा काम गर्ने अग्रज पर्यटनकर्मीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा कोसी प्रदेशमा हालसम्म सञ्चालित तारे होटलहरु, प्रदेशका मुख्य गन्तव्यहरू, धार्मिक स्थलहरू, हस्पिटालीटी म्यानेजमेन्ट कलेजहरू गरी ३० भन्दा बढी स्टलहरू रहेको छ ।