इटहरी । इटहरी उपमहानगरपालिकाले बहालकर ५ प्रतिशतमा झारेको छ । घर तथा कोठा भाडामा दिएर प्राप्त गरेको आम्दानीमा धनीले तिर्नुपर्ने कर ७ प्रतिशतबाट ५ प्रतिशतमा झारेको हो ।
दायरा फराकिलो बनाउन भन्दै आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् कर घटाइएको घोषणा गरेको हो । यस्तै घर जग्गा बहाल कर तिर्ने दायित्व भएका करदाताको २०७५ अषाढ मसान्त अगाडिको सम्पुर्ण बहाल कर मिनाहा गर्न समेत प्रस्ताव गरिएको छ ।
यो निर्णयले नगर क्षेत्रभित्र व्यवशाय गर्नेहरु र घर जग्गा बहालमा लिनेहरु बढी लाभान्वित हुने भएका छन् । घर तथा जग्गाधनीले तिर्नुपर्ने कर भएतापनि भाडामा लिनेले व्यवशाय दर्ता तथा नवीकरण गर्दा उक्त कर तिर्दै आएका छन् । यसअघि ८ प्रतिशत रहेको कर केही वर्षयता ७ प्रतिशतमा झारिएको थियो भने आगामी आर्थिक वर्षदेखि ५ प्रतिशतमा झारिएको छ ।
यसैगरी व्यवसाय दर्ता गरेका तर विविध कारणले हाल सञ्चालन गर्न नसकेर बन्द अवस्थामा रहेका व्यवसायहरु बन्द गर्न चाहेमा विशेष सहुलियत सहित बन्द गर्ने व्यवस्था गरिनेसमेत व्यवस्था गरिएको छ ।
यस्तै स्वरोजगारमुलक व्यवसायलाई प्रबर्धन गर्न एक लाख रुपैयासम्म मात्र पूँजी भएको स्वरोजगारमूलक घरेलु व्यवसायका लागि व्यवसाय करमा पूर्ण छुटको व्यवस्था गरिएको छ ।
यस्तै, अपाङ्ग तथा महिला, महिलाहरूको समुहले गरेका व्यवशायहरुलाई विशेष कर छुटको प्रस्ताव गरिएको छ ।