इटहरी । चालु आर्थिक वर्षको भन्दा केही बढेर आएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा इटहरीले केही नयाँ र केही पुराना योजनाहरुलाई अघि सारेको छ ।
चालु आर्थिक वर्षको घाटालाई पुर्ती गर्ने दायित्वसँगै उपमहानगरले नयाँ आर्थिक वर्षमा नगरवासीको सर्वपक्षीय विकासका योजनालाई समेट्न खोजेका छ । जसअन्तर्गत आकाशे पुलदेखि चार्जिङ स्टेसनसम्मका योजनाहरु छन् । विभिन्न क्षेत्रमा केही न केही नयाँ काम गर्ने योजनाहरु बजेटमा प्रस्तुत छन् ।
पुर्वाधार : पुर्वाधार एम्बुलेन्सदेखि विद्युतीय नगर बस र चार्जिङ स्टेसन
आर्थिक वर्ष २०८०÷८१ को बजेटमार्फत् इटहरी चोकमा दुई वटा आकाशेपुल बनाउने घोषणा गरिएको छ । त्यस्तै खेतीखोला र टेंग्रा खोलामा रिभर करिडोर र ग्रिन बेल्ट निर्माण गर्ने योजना अघि सारिएको छ ।
यस्तै अघिल्लै स्थानीय सरकारले घोषणा गरी आधा तयारीसमेत गरिसकिएको रात्री बजार सञ्चालन गर्ने योजना बनाइएको छ । व्यवशायीहरु र नगरवासीहरुले पटक पटक माग राख्दै आएपनि सञ्चालन गर्न सकिएको थिएन ।
एक हजार ५०० जना अट्ने सुविधासम्पन्न सभागृह बनाउने, बाहिरी चक्रपथको सम्भाव्यता अध्ययन गर्ने, इटहरीको समग्र विकासको गुरु योजना बनाउने बजेटमा व्यवस्था छ । ऐलानी जग्गाहरुमा पार्क बनाउने, ६ वटा नगर विद्युतिय नगर बस सेवा संचालन गर्ने र ६ स्थानमा चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाइएको छ ।
यसैगरी इटहरी उपमहानगरपालिका भित्र निर्माण हुने भौतिक पूर्वाधारका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी आन्तरिक रोजगारी सृजना गर्ने योजनासमेत अघि सारिएको छ ।
सडक बिग्रे, भत्केमा तत्काल मर्मत गर्ने गरी इन्फास्टक्चर एम्बुलेन्स सञ्चालन गर्ने समेत योजनामा उल्लेख छ । पत्रकार महासंघ सुनसरीको भवन निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छ । महासंघको दोस्रो भवन इटहरीमा निर्माणाधिन छ ।
यसैगरी बाढी र डुवान नियन्त्रणका लागि गुरुयोजना बनाउने र प्रदेश तथा केन्द्र सरकारसँग सहयोग मागेर तटबन्ध निर्माणलाई निर्न्तरता दिईने उल्लेख छ ।
शिक्षा : सामुदायिक विद्यालय सुधारदेखि थारु भाषाको पुस्तक
इटहरीका सामुदायिक विद्यालयहरुलाई नमूना विद्यालय बनाइने घोषणा गरेको छ । त्यसका लागि विद्यालयलाई धेरै तरिकाले कडाइ गर्नेसमेत बजेटमा योजना समेटिएको छ । विद्यालयहरुलाई सिसिटिभीमार्फत् अनुगमन गर्ने र विद्यार्थीहरुको लागि फ्राइडे फर फ्युचर कार्यक्रम सञ्चालन गरिनेसमेत योजना छ । इटहरीको सेरोफेरो कक्षा १ देखि ८ सम्म र थारु भाषाको पाठ्यपुस्तक कक्षा १ देखि ५ सम्म विकास गरी लागूगर्ने व्यवस्था मिलाइने उल्लेख छ ।
कक्षा ८,९, र १० मा अध्ययनरत विद्यार्थीहरुका लागि कोचिङ कक्षा संचालन गर्ने, विद्यालय नर्सको व्यवस्थाका लागि विद्यालयलाई सहयोग गर्ने उल्लेख छ ।
स्वास्थ्य : निःशुल्क एम्बुलेन्सदेखि हरेक वडामा योगध्यान केन्द्र
यस्तै इटहरी अस्पताललाई सुविधासम्पन्न बनाउने, सिटि स्क्यान, आइ।सि।यु।, भेन्टिलेटरसहितको शल्यक्रिया कक्ष निर्माण गरिने योजना बनाइएको छ ।
गरिव, विपन्न, गर्भवती, जेष्ठ नागरिक तथा शारिरीक रुपमा अशक्त नागरिकहरुको इटहरी अस्पतालमा गरिने उपचारमा ५० प्रतिशत छुट दिइने, दुई वटा एम्बुलेन्स किनेर निः शुल्क सेवा सञ्चालन गर्ने, गर्भवती महिला, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरु, गरिब विपन्नहरुलाई इटहरी अस्पतालमा उपचार खर्चमा ५० प्रतिशत छुट दिने, मृगौला रोगी बिरामीहरुको लागि डायलासिस सेवा सुरु गर्ने र इटहरीको सबै वडामा योग ध्यान केन्द्रहरु निर्माण गरि संचालन गर्ने समेत योजना बनाइएको छ ।
बालबालिका : बच्चाको नाममा फिक्स डिपोजिट
इटहरी उपमहानगर क्षेत्र भित्र स्थायी बसोबास गर्ने दम्पत्तिबाट २०८० साल श्रावण १ गते देखि जन्म हुने बच्चाको नाममा दुई हजार ५०० रुपैया फिक्स डिपोजिट गरिने बजेटमा उल्लेख छ । कम्तिमा ५ वटा वडाहरुलाई बालमैत्री घोषणा गरिनेछ ।
टोलविकास : बचत निषेध
टोल विकास संस्थाहरुले संकलन गरेका रकम बचतकर्तालाई फिर्ता दिने र टोल विकास संस्थाहरुलाई बचत संकलन गर्न निषेध गर्ने नीति लागु गरिने भएको छ । यस्तै टोलविकास संस्थाहरुको गठन र परिचालनलाई प्रभावकारी बनाउने भएको छ ।
साथै,
नवप्रवर्तन, अनुसन्धान तथा आईडिया ईभेन्ट कार्यक्रम गर्ने, प्रत्येक वडामा एक वडास्तरिय खेल मैदान निर्माण गरी प्रत्येक वडामा खुल्ला व्यायामशालाको निर्माण गर्ने योजनासमेत बनाइएको छ ।
इटहरी उप महानगरपालिकाको नगर गित र नगर बुलेटिन प्रकाशनको योजनासमेत बनाएको छ ।