काठमाडौँ । बैतडीमा सोमबार बिहान भएको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मृतक तीनै जना डडेल्धुराका हुन्।
जिल्ला प्रहरीका अनुसार दुर्घटनामा परी डडेल्धुराको अलिताल गाउँपालिका–३ का १४ वर्षीय राकेश रावत, सिगासे गाउँपालिका–१ का २४ वर्षीय निशान्त बोहरा र सोही वडाका २९ वर्षीय भानदेव भट्टको घटनास्थलमै मृत्यु भएको हो।
चालक समेत दुर्घटनामा परी कति जना घाइते भए भन्ने यकिन भइनसके पनि कम्तीमा ८–९ जना घाइते भएको प्रहरीको अनुमान छ।
मध्याह्न १२ बजेसम्म तीन जना घाइतेलाई मात्रै डडेल्धुरा अस्पताल पुर्याइएको र अन्य घाइतेलाई अस्पतालतर्फ पठाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।
जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा मोतीनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी साढे दुई सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।