इटहरीमा विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जना कर्मचारीको मृत्यु

न्युजलय ३० असार २०८३, मङ्गलबार ११:०४ मा प्रकाशित

इटहरी । इटहरीमा नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रको स्कोरपिओ दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

सोमबार राति इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा सेउती पुलबाट करिब दुई सय मिटर दक्षिण तरहरातर्फ जाँदै गरेको बा १ ञ १६५१ नम्बरको स्कोरपिओ आफैं अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

दुर्घटनामा चालक धरान –१३ का करिब ३३ वर्षीय बिर्खबहादुर राई र गाडीमा सवार धरान–१६ निवासी ४९ वर्षीय सुमन आचार्य गम्भीर घाइते भएका थिए।

उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले राति १२ः४५ बजेतिर दुवै जनालाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा धरान–२० निवासी ३२ वर्षीय पदम राई घाइते भएका छन्। उनको निधार र छातीमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेका छन् र बीपी प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा स्कोरपिओ तीव्र गतिमा रहेका कारण अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ।

दुर्घटनाग्रस्त गाडी इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।