धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सेवा तीन दिनदेखि पूर्ण रूपमा ठप्प भएको छ ।
फार्मेसीमा कार्यरत कर्मचारीले सात महिनादेखि तलब तथा सेवासुविधा नपाएका भन्दै आन्दोलन थालेपछि सेवा बन्द भएको हो ।
फार्मेसीमा कार्यरत १८ जना फर्मासिष्ट र चार जना सहयोगी गरी २२ जना कर्मचारीले तलब तथा सेवासुविधा माग गर्दै धर्ना बसेका छन् । चौबीसैँ घण्टा सञ्चालन हुने फार्मेसी सेवा बन्द हुँदा बिरामी औषधि सेवाबाट वञ्चित भएका छन् ।
कर्मचारीको धर्नाका कारण विशेष गरी प्रतिष्ठानको फार्मेसीमार्फत दिइँदै आइएको स्वास्थ्य बिमाअन्तर्गतका औषधि रोकिएका छन् ।
प्रतिष्ठानको फार्मेसी सेवा निजी आपूर्ति कम्पनी केटिएम सेक्युरिटी सर्भिसेज प्रालिमार्फत सञ्चालन हुँदै आएको छ । कर्मचारीलाई तलब तथा अन्य सेवासुविधा दिने दायित्व पनि सोही कम्पनीको भए पनि सात महिनादेखि तलब नपाएपछि आन्दोलनमा उत्रनुपरेको उनीहरूको भनाइ छ ।
तलब तथा सेवासुविधाको माग गर्दै पटकपटक मौखिक र लिखित रूपमा आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिएको कर्मचारीहरू बताउँछन् ।