अस्पतालको आईसीयूमा आगलागी, चार जनाको मृत्यु

न्युजलय २१ जेठ २०८३, बिहिबार ०१:३० मा प्रकाशित

काठमाडौँ । भारतको बिहार राज्यस्थित मुजफ्फरपुरको एक निजी अस्पतालको आईसीयूमा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । मुजफ्फरपुरको प्रसाद अस्पतालमा बिहीबार बिहान आगलागी भएको हो।

बिहारका मुख्यमन्त्री सम्राट चौधरीले यस दुर्घटनामा चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले मृतकका परिवारलाई जनही चार लाख भारु आर्थिक सहायता दिने घोषणा समेत गरेका छन्।

सञ्चारमाध्यमहरूले भने मृतकको संख्या बढ्न सक्ने आशंका गरेका छन् । आगलागीमा थुप्रै मानिस घाइते भएका छन् । जसमा अधिकांश अस्पतालमा भर्ना भएका बिरामीहरू छन्।

आगलागी भएलगत्तै आईसीयूमा रहेका अन्य बिरामीहरूलाई उद्धार गरी नजिकका  अस्पतालहरूमा भर्ना गरिएको छ।

प्रारम्भिक अनुसन्धानमा सर्ट सर्किटको कारण आगलागी भएको देखिए पनि घटनाको पूर्ण विवरण विस्तृत अनुसन्धानपछि मात्रै खुल्नेछ।