धनकुटा । धनकुटामा भारतीय नम्बरको सवारीमा नेपाली नम्बर राखेर चलाउने एक व्यक्ति पक्राउ परेका छन् ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारस्थित कोशी लोकमार्गमा भारतीय नम्बर प्लेटको गाडीमा अवैध रुपमा नेपाली नम्बर प्लेट राखेर सञ्चालन गरेको अवस्थामा भारत बिहार राज्य जोगबनी थाना अमोना पञ्चायत–२१ मिरगञ्ज बस्ने २२ वर्षीय नन्दुकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धरानतर्फ जाँदै गरेका सवारी साधनहरु चेकजाँच गर्ने क्रममा उक्त गाडी नियन्त्रणमा लिएको धनकुटा प्रहरीले जानकारी दिएको छ ।
चेकजाँचका क्रममा चौधरीले चलाएको सेतो रङको कारको वास्तविक भारतीय नम्बर प्लेट बिआर एजी ६७०२ रहेको खुलेको प्रहरीले जनाएको छ । तर, चालक चौधरीले सो नम्बर प्लेटको माथि नेपाली नम्बर प्लेट प्रदेश १–०१–००१ च ९२९४ राखी सवारी सञ्चालन गरिरहेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले चालक तथा सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि यातायात व्यवस्था सेवा कार्यालय धनकुटामा पठाइएको जनाएको छ ।