ब्याज फिर्ताको विवरण पेश गर्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

न्युजलय १६ मङ्सिर २०७९, शुक्रबार ०१:२९ मा प्रकाशित

काठमाडौं । नियमविपरीत लिएको ब्याज फिर्ताको विवरण पेश गर्न नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिएको छ । १२ मंसिरमा राष्ट्र बैंक बैंक सुपरीवेक्षण विभागले सबै बैंकलाई पत्र काटेर नियम विपरीत प्रिमियम बढाएर लिएको ब्याज फिर्ता गरेको विवरण पठाउने निर्देशन दिएको हो ।


१५ दिनभित्र ब्याज फिर्ता गरेको विवरण पठाउने निर्देशन दिँदै राष्ट्र बैंकबाट पत्र आएको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । गत आर्थिक वर्षको वाषिर्क वित्तीय विवरणलाई प्रारम्भिक स्वीकृति दिदा नै राष्ट्र बैंकले नियम विपरीत प्रिमियम बढाएर लिएको ब्याज फिर्ता गर्ने शर्तमा राष्ट्र बैंकले स्वीकृत गरेको थियो ।


वाणिज्य बैंकहरुले मात्रै गत आर्थिक वर्षमा ऋणीसँगको सम्झौता विपरीत प्रिमियम बढाएर साढे ३ अर्ब भन्दा बढी ब्याज बैंकहरुले असुल गरेको केन्द्र्रीय बैंकले जनाएको थियो ।


उक्त रकम फिर्ता गर्ने शर्तमा राष्ट्र बैंकले गत आर्थिक वर्षका वित्तीय विवरणको प्रारम्भिक स्वीकृत तथा साधारणसभाको स्वीकृत प्रदान गर्दा उक्त ब्याज फिर्ता गर्न शर्त राखेर स्वीकृत गरेको हो ।


राष्ट्र बैंकले ऋणीको नाम तथा खाता विवरण लगायत कर्जाको प्रकार, ब्याज फिर्ताका लागि छुट्याइएको रकम समेतको विवरण बुझाउन निर्देशन दिएको छ ।