प्रदेश १ का मुख्यमन्त्रीको आज छिनोफानो

न्युजलय १५ कार्तिक २०७८, सोमबार ०७:३६ मा प्रकाशित

विराटनगर । प्रदेश १ को प्रदेश सभा बैठक आज (सोमबार) बस्दै छ। आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने छन्। यस अघिकै बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्ताव टेबल भइसकेको छ। 

संविधानको धारा ११८ को उपधारा २ बमोजिम आफूमाथि प्रदेश सभामा विश्वास छ भनी उनले प्रस्ताव पेस गरेका हुन्। सरकारको नेतृत्वकर्ता एमाले विभाजन भएपछि आचार्य अल्पमतमा छन्।

कुल ९३ सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा ४१ जना सांसद मात्रै छन्। गठबन्धनमा कांग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १० र जसपा ३ जना गरी गठबन्धनमा ४९ जना सांसद छन्।

सत्तारूढ गठबन्धनले यसअघि नै प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन गर्ने भनेका छन् । सोमबार नै एकीकृत समाजवादीका सचिव एवं प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष निवेदन दिने निर्णयसमेत गठबन्धनको बैठकले गरेको छ।