२०७८ साल मङ्सिर १३ गते सोमबार

मारुती सिमेन्ट प्रयोग नगर्न सरकारको निर्देशन

न्युजलय ६ मङ्सिर २०७८, सोमबार ०८:५६ मा प्रकाशित
काठमाडौं । सरकारले गुणस्तरहीन मारुती समेन्ट प्रयोग नगर्न निर्देशन दिएको छ । नेपाली बजारमा गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै आएको मारुती सिमेन्ट कारबाहीमा परेसँगै विकास निर्माणको काममा प्रयोग नगर्न निर्देशन दिइएको हो ।

विकास निर्माणको काम गर्दै आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले उक्त गुणस्तरहीन सिमेन्ट प्रयोग नगर्न निर्देशन दिँदै आफू मातहतका निकायलाई गुणस्तरहीत सिमेन्ट प्रयोग नगर्न परिपत्र नै जारी गरिसकेको छ । शहरी विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले गुणस्तरहीन निर्माण सामग्री प्रयोग नगर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएको बताए ।  

मारुती सिमेन्टबाट निर्माण गरिएका विकास निर्माणको कामसमेत गुणस्तरहीन देखिन थालेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च कर्मचारीले बताए । नेपाल गुणस्तर तथा नापतौल विभागले विकास निर्माणसँगै नागरिकले निर्माण गर्ने घरमा समेत मारुती सिमेन्ट प्रयोग नगर्न आग्रह गरेको छ । गुणस्तरहीत सिमेन्ट प्रयोग गर्दा हाल निर्माणाधीन विकास निर्माणको कामसमेत प्रभावित भएको भन्दै विभागले देशको ठूला विकास आयोजनामा प्रयोग हुँदै आएको मारुती सिमेन्ट प्रयोग नगर्न सरोकारवालाहरूलाई आग्रह गरेको हो ।

४३ ग्रेडको मारुती ओपीसी सिमेन्ट प्रयोग नगर्न र बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन पनि गुणस्तर तथा नापतौल विभागले यसअघि निर्देशन दिए पनि मारुती सिमेन्टले अझै कार्यान्वयन गर्न आनाकानी गर्दै आएको छ ।