काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकको रुपमा भारतकी देविका दिलिप पालशिकर जोडिएकी छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, ४४ वर्षीया पालशिकर नेपालको सिनियर राष्ट्रिय महिला टोलीसँग सल्लाहकार ब्याटिङ प्रशिक्षकका रुपमा जोडिएकी हुन् ।
नेपालको सिनियर राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकका रुपमा नियुक्त हुने पालशिकर पहिलो विदेशी हुन् । भारतीय टोलीकी पूर्वखेलाडी पालशिकर विगत लामो समयदेखि प्रशिक्षकको भूमिकामा सक्रिय छिन् ।
आफ्नो समयकी अलराउन्डर खेलाडी पालशिकरले भारतका लागि टेस्ट र एकदिवसीय दुबै प्रतियोगिता खेलेकी थिइन् । उनी पछिल्लो १० वर्षयता प्रशिक्षकको भूमिकामा सक्रिय छिन् ।
पछिल्लो समय नेपालको राष्ट्रिय महिला क्रिकेट टोली टीट्वान्टी विश्वकप छनोट प्रतियोगिताको तयारीमा ब्यस्त छ ।