भारतको उत्तर प्रदेशमा जिका भाइरसको प्रकोप बढ्दै, ७९ जनामा ​​संक्रमण

न्युजलय २१ कार्तिक २०७८, आइतबार ०८:४७ मा प्रकाशित

काठमाडौं । भारतको उत्तर प्रदेशमा लामखुट्टेले सार्ने जिका भाइरसको प्रकोप बढ्दै गएको छ। कानपुरपछि यो भाइरसका संक्रमित कन्नौजमा पनि देखिन थालेका छन्। 


शनिबार कानपुरमा जिका भाइरसका ७९ जनामा ​​संक्रमण देखिएको छ। त्यही क्रममा कन्नौजमा पहिलो संक्रमित फेला परेको स्थानिय स्वास्थ्य अधिकारीहरुले बताएका छन्। 


उत्तर प्रदेशमा जिकाका केसहरूलाई ध्यानमा राख्दै दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले शनिबार आफ्नो सरकारलाई सतर्क गराएका छन्। 


कानपुरका स्वास्थ्य अधिकारीहरुले त्यस क्षेत्रमा जिका भाइरस तीव्रगतिमा फैलिएको र त्यसलाई नियन्त्रण गर्न विशेष सतर्कता आवश्यक रहेको बताएका छन्।


कानपुरका सबै अस्पतालमा जिका भाइरस संक्रमितको उपचारका लागि आवश्यक प्रबन्ध गरिएको र सबै बिरामीको स्वास्थ्य निरन्तर रुपमा निरीक्षण गरिएको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जानकारी दिएका छन्।


जिका भाइरस सम्बन्धी संक्रमितहरु बढ्न थालेपछि आदित्यनाथले अधिकारीहरुलाई कानपुरमा सरसफाइको कामलाई तीव्रता दिन निर्देशन दिएका छन्।


साथै उनले यस विषयलाई गम्भीरतासाथ लिन र परीक्षणलाई तीव्रता दिन पनि निर्देशन दिएका छन्।