काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्यान्डले लगातार तेस्रो जित निकालेको छ । दुबईमा शनिबार राति भएको खेलमा अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले तेस्रो जित निकालेको हो ।
अष्ट्रेलियाले दिएको १ सय २६ रनको लक्ष्य इंग्ल्यान्डले ११.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
इंग्ल्यान्डलाई जित दिलाउन जोस बट्लरले ७१ रनको अर्धशतकीय इनिङ्स खेले । उनी अविजित रहे । जासन रोयले २२ रन जोड्दा डाविड मालन ८ रनमा आउट भए ।
जोनी बेयर्सटो रनमा १६ रनमा अविजित रहे ।
अष्ट्रेलियाका एडम जाम्पा र एस्टन अगरले एकरएक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १ सय २५ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४४ रन बनाए भने एस्टन अगरले २० रन जोड्दा म्याथ्यु वेडले १८ रन जोडे । मिचेल मार्श १३, पाट कुमिन्स १२, ग्लेन म्याक्सवेल ६ र डेभिड वार्नर १ रनमा आउट भए ।
इंग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए । क्रिस वोक्स र ट्यामल मिल्सले २/२ विकेट लिँदा आदील राशिद र लियाम लिभिङस्टोनको नाममा १/१ विकेट रह्यो ।
जितसँगै इंग्ल्यान्डले ३ खेलमा ६ अंक जोडेको छ । समूह १ मा इंग्ल्यान्ड शीर्ष स्थानमा रहेको छ भने अष्ट्रेलिया ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।