काठमाडौं । सहकारी विभागले आफूखुशी ब्याजदर बढाउने सहकारीलाई कानूनी कारबाही गर्ने भएको छ ।
नेपाल सहकारी पत्रकार समाज (सीजेएन) ले ‘सहकारीको सन्दर्भ ब्याजदर’ विषयमा बुधबार आयोजना गरेको छलफल कार्यक्रममा विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायले आफूखुशी ब्याजदर बढाउने सहकारीलाई तत्काल कारबाही गर्ने चेतावनी दिए ।
विभागले ऐनको प्रावधानमा रहेर काम गर्ने भएकाले अहिले सन्दर्भ ब्याजदर बढाउने अवस्था नरहेको उनले बताए । सन्दर्भ ब्याजदर निर्धारण समितिले उपसमिति बनाएर अध्ययन गरिरहेको छ ।
कमजोर वर्गको हित हुने भए सन्दर्भ ब्याजदर २० प्रतिशत बनाउन पनि कुनै आपत्ति नहुने विभागको भनाइ छ । सहकारी संस्थाको संख्या घटाउने गृहकार्यमा पनि विभाग लागेको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्यालले ऐनअनुसार ब्याजदर बढाउन सक्ने अवस्था नभएको धारणा राखे तर आफूहरू ब्याजदर बढाउनका लागि कसरत गरिरहेको बताए ।
सहकारीको ब्याजदर समयसापेक्ष र स्वचालित हुनुपर्नेमा कार्यक्रमका सहभागीको ऐक्यबद्धता थियो ।
काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले बैंकले भद्र सहमति तोडेर अगाडि बढेको भए पनि सहकारी रुमलिएको बताए ।
ऋणीले ऋण नतिर्दा सहकारीलाई थप समस्या सिर्जना भएको सहकारीकर्मी बताउँछन् ।
बैंकले १७ प्रतिशत ब्याज दिँदा अब सहकारीको २० प्रतिशतसम्म दिने व्यवस्था गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।