सुनसरी । नेकपा एमालेका नेता द्वारिकलाल चौधरी पार्टी जिम्मेवारीमा फर्केका छन् ।
अध्यक्षलगायत केन्द्रिय नेताविरुद्ध विभिन्न टिकाटिप्पणी गरेपछि प्रदेश सदस्यबाट निलम्बित भएका चौधरी चुनावको मुखमा जिम्मेवारीमा फर्केका हुन् । उनलाई सुनसरी क्षेत्र नं. २ को निर्वाचन कमाण्डरको जिम्मा दिइएको छ । यस क्षेत्रबाट युवा उम्मेदवार सुजन लामा एमालेबाट चुनावमा उठेका छन् ।
सोही क्रममा शुक्रबार नेकपा एमाले रामधुनी नगर कमिटीले आज झुम्कामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै चौधरीले आगामी निर्वाचन देश ध्वस्त गर्ने र बनाउँनेहरुबीचको भएको बताउँदै चुनावमा जित हाँसिल गर्ने ठोकुवा गरे । उनले विरोधीहरुको सबै चक्रव्युह तोडेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले नेकपा एमालेको एकल बहुमतको सरकार बनाउने बताए ।
इटहरीका पुर्वमेयरसमेत रहेका चौधरीले पार्टीको दोस्रो विधान महाविधेवशनको झोला देखाउँदै भने, ‘मैले झोला बिसाएको थिएँ । झोला फेरि टक्टक्याएर बोकेको छु ।’
पार्टीको आन्तरिक विवादका बिचमा पनि सुनसरी क्षेत्र नं. २ नेकपा एमालेले जित हात पार्दै आएको ठाउँ हो । तर यसपटक पार्टीभित्रको आन्तरिक विवाद र राष्ट्रव्यापी माहोल सुनसरी क्षेत्र नं. २ मा नेकपा एमालेका निम्ति प्रतिकुल बनेको देखिएको छ । यसै बिचमा राम्रो राजनीतिक रणनीति बनाउन सक्ने र इमान्दार पृष्ठभूमीका चौधरी पार्टी जिम्मेवारीमा फर्किएपछि एमाले सुनसरीका कार्यकर्ताहरु भने उत्साहित देखिएका छन् ।