मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने

न्युजलय २६ मङ्सिर २०८२, बिहिबार ०१:५८ मा प्रकाशित

विराटनगर। कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयलाई धनकुटा अस्पताल हस्तान्तरण गरेसँगै मेडिकलतर्फको बिएससी नर्सिङ्गको कक्षा सञ्चालन हुने भएको छ ।

चिकित्सा शिक्षा आयोगको निर्देशन अनुसार बिएससी नर्सिङ्ग विषयको पाठ्यक्रम तयार गरिसकेकाले कोशी प्रदेश सरकारको प्रतिबद्धताअनुसार यथाशीघ्र धनकुटा जिल्ला अस्पतालमा मनमोहनले अगामी शैक्षिकसत्रदेखि उक्त कक्षा सञ्चालन गराउने तयारी गरेको हो ।

विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले प्रदेश सरकारले गत जेठमा निर्णय गरेर धनकुटा शिक्षण अस्पतालका लागि मनमोहनलाई हस्तान्तरण गर्न प्रक्रिया थालिसककाले सम्झौता गरेर टुङ्गो लागेपछि बिएससी नर्सिङ्गको कक्षा आगामी शैक्षिक सत्रदेखि सञ्चालन गरिने जानकारी दिए । 

प्रदेश सरकारले विसं २०७६ मा स्थापना गरेको मुलुकको पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले शिक्षण अस्पताल प्राप्त गर्न ढिलाइ हुँदा मेडिकलतर्फका कार्यक्रम सञ्चालन गर्न नसकिएको जनाएको छ ।

स्वास्थ्य प्राविधिक कार्यक्रमका लागि पाठ्यक्रम निर्माण गरिसके पनि अस्पताल प्राप्त नहुँदा सरकारको अन्तिम सम्झौताको निर्णय पर्खेर बसेको उपकुलपति डा पोखरेलले बताए । 

मनमोहन प्राविधिक विश्वविद्यालयले स्कुल अफ मेडिकल एण्ड हेल्थ साइन्सबाट चार वर्षे बिएससी नर्सिङ्ग कार्यक्रमका लागि नयाँ पाठ्यक्रम चिकित्सा सेवा आयोगले तोकेको मापदण्डअनुसार तयार गरिसकेको छ । 

मनमोहन प्राविधिक विश्वविद्यालयले हालसम्म आफ्नै आङ्गिक क्याम्पसमार्फत इञ्जिनिरिङतर्फ सिभिल, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्सतर्फ स्नातक, फार्मेसी, पाँच वर्षे बिबिए÷एलएलबी स्नातोकोत्तरतर्फ एलएलएम र हस्पिटल म्यानेजमेन्ट विषयको अध्यापन गराउँदै आएको छ ।