आजबाट सोह्र श्राद्ध सकिंदै

न्युजलय १९ असोज २०७८, मङ्गलबार ११:२६ मा प्रकाशित

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अपराह्नकलामा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गरिँदैछ ।

पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ ।

यस वर्ष भदौ ४ गतेदेखि सुरु भएको पितृ पक्ष आज असोज २० गते विधिवत् समापन गरिँदै छ । पितृ पक्षको अन्तिम दिन आज आमावास्य अर्थात् औँसी तिथिको श्राद्ध गरिन्छ । कुनै कारणवश पितृ पक्षका अन्य तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय विधान रहेको छ। अथवा कुनै कारणवश यस समयमा पनि सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय विधान रहेको छ।

तर यी विकल्पहरू विशेष परिस्थितिका लागि मात्र दिएको हो।

चाडपर्व यज्ञयज्ञादि तथा ठुला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन शास्त्रीय परम्परा अनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृका नाममा तर्पण एवम् पिण्ड दान गरे पितृ तृप्त हुने धार्मिक मान्यता रहेको छ ।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुने गर्दछ । भोलि २१ गते घटस्थापना भए सँगै नवरात्र प्रारम्भ हुँदैछ।