पूर्व योजनाका साथ बनाइएको शहर र योजनाविनै बसेको शहरमा धेरै भिन्नता पाइन्छ । योजना बनाएर बसेको शहरमा सबै पूर्वाधार र आवश्यकताका वस्तु तथा सेवाहरुको समुचित व्यवस्था हुन्छ । जस्तो कि खानेपानी, ढल, विद्युत, संचार, पैदलयात्री र अपांगतामैत्री पेटीसहितको बाटो ।
यस्तै वर्षे पानीको व्यवस्थापन, धुलो तथा फोहोर व्यवस्थापन, खाली स्थानको उपयोग, बिद्यालय, उद्यान, बाढी नियन्त्रणका पोखरी, फोहोर ब्यवस्थापन जस्ता यावत् विषयलाई ध्यानमा राखी आवश्यक मात्रामा रुख बिरुवा र फूल रोपी पर्यावरणमैत्री सुन्दर, स्वच्छ र विकसित शहरको परिकल्पना गरिएको हुन्छ । तर अब्यबस्तित शहरमा यी यस्ता कुनै विषयको कुरामा ध्यान दिएको पाइँदैन । प्रसंग हाम्रो इटहरीको ।
यो पूर्व योजना वा टाउन प्लानिंग सहित बनाइएको शहर हैन । तर पनि निम्नलिखित बुँदाहरुलाई हाम्रो स्थानिय सरकार र सम्बन्धित निकायले समन्वय गरी योजनाबद्ध तरिकाले कार्यान्वयन गर्ने हो भने इटहरीलाई अझै पनि व्यवस्तित गर्न सकिने ठाउँ छन् ।
१.राजमार्गले छोएका बजार क्षेत्रका शाखा बाटाहरुलाई एकतर्फी अर्थात् वान वे बनाउने । पार्किंग स्थलबाहेक साना गाडी र मोटर साइकल पसल अगाडीको छेउमा २० मिनेटभन्दा बढी राख्न नपाइने । सिसि क्यामाराको साथ निगरानी गर्ने र स्वचालित जरिवाना पद्दति नियमन गर्ने ।
२. गाडी पार्किंङको लागि विभिन्न स्थानमा व्यक्ति वा नगरपालिकाले खुला स्थान लिजमा लिएर व्यवस्थित पार्किंङको ब्यवस्थापन गर्ने । उदाहरणका लागि नेपाल बैंक अगाडि रहेको खाली जग्गा ।
३. बर्खायाममा पानी पर्दा इटहरीका सडक छेउछाउमा धेरै पानी जमेको देखिन्छ । उक्त पानीलाई निकास दिन व्यवस्थित चार इन्चको पोलिथिन पाइप सडकमुनि जडान गर्ने । त्यस्तै बर्षायाममा घर, कार्यालय, उद्योग, कृषिक्षेत्र, र बजारबाट निस्कने दुषित पानीको अन्तिम गन्तव्य पनि बजार छेउको हिलो, रोगका किटाणुसहित जमेको पानी वा खोला नै हो ।
यसरी दुर्घन्धित तरिकाले अब्यवस्थित रुपमा खोलामा सिधै हाल्नुभन्दा नजिकमा रहेको खोला छेउमा पानी व्यवस्थापनका लागि पोखरी बनाउने र ठूलो क्षेत्रफलको पाइप हल्का ओरालो बनाइ बाटोको तलबाट लगी उक्त पोखरीमा खसाउने (माथी भनिएको चार इन्चको पाइप जमिन मुनि बिच्छाइएको ठुलो पाइप, ह्युमपाइपमा जडान गरी दुषित पानी निकास बगाउने) । पोखरीमा अक्सिजनसंग पानी मिसिए प्रदुषण कम हुन्छ, तसर्थ ढूंगाको ओरालो छहरा मार्ग बनाई त्यस पानीलाई खोलामा खसाउने ।
यसो गर्दा पानीबाट हुने दीर्घकालिन समस्या र पर्यावरणलाई पुग्ने असरको समाधान गर्न सकिन्छ । यो प्रकृयालाई स्ट्रोम वाटर मेनेज्मेन्ट (वर्षे पानी व्यवस्थापन) भनिन्छ ।
४. इटहरी उपमहानगरपालिकाले घर नक्सा स्विकृत गरी निर्माण अनुमति दिने प्रकृयामा क्षेत्रफल र घरको उचाई अनुपात अनि घर र सडक बीचको कोण सहितको निश्चित मापदण्ड बनाउनुपर्ने । घर र सडकबीच कुनै संरचना बनाउन नपाउने । तर धुलो नियन्त्रण र पानीलाई जमिनमा रिचार्ज गराउन घाँस, बुटा, वा उद्यान बनाउनुपर्ने ।
५. सडक छेवैमा जतिपनि ड्रेन छन्, हटाएर ढल र वर्षेपानी व्यवस्थापनकालागि दुर्इ वटा छुट्टाछुट्टै पाइप जमिन मुनि कुदाइ प्रत्येक सय फिटको दुरीमा प्रत्येकलाई आ–आफ्नै जमिन मुनिको संरचनामा जोड्ने । जहाँबाट अड्किएको फोहोर सफा गर्न सहज होस् र पछि मर्मत गर्नुपर्ने अवस्था आएमा सडक वा पेटी खन्न नपरोस् ।
उक्त ढल र वर्षेपानीलाई फरक–फरक पोखरीमा खसाल्ने, त्ससबाट ओभरफ्लो पानी नदीमा मिसाउने । जहाँ जमिनमुनिको उपयोगिता (अंडरग्राउण्ड युटिलिटी) कुदाइएको हुन्छ, त्यसमाथी मानिस हिड्ने अपांगमैत्री सडक पेटी बनाउने ।
६. इटहरीमा आइ टी विषय पढाउने कलेजहरुका विद्यार्थी र शिक्षकलाई ट्राफिक लाइट वा सवारी बहान नियन्त्रण बत्ती ब्यवस्थापनको योजना र सफ्टवेर बनाउने प्रोजेक्ट दिने ।
यसै अनुरूप इन्जिनियरिंग कलेजसंग (मेकानिकल इन्जिनियरिंगमा संलग्न ब्यक्ति) समन्वय गरी बजेट छुट्टाइ प्रत्येक चोकहरुमा बहान नियन्त्रण बत्तीको व्यवस्थापन गर्ने । बत्तीलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीअन्तर्गतको एउटा कार्यालय बनाई उसै कार्यालयलाई ब्यवस्थापनको जिम्मेवारी दिने र उपमहानगरपालिकाले समन्वय गर्ने ।
७. सि सि क्यामेराद्वारा बजार, टोल, र सडकको निगरानी गरी आपराधिक गतिविधि र दुर्घटनामा दोषिको बारेमा छानबिन गर्ने । प्रहरी कार्यलयसँग समन्वय गर्ने ।
८. सडक पेटी पैदल यात्राकोलागि मात्र भएकोले सडक पेटीमा कुनैपनि पसल खोल्न नदिने । यदि खोलिए सुचना, दण्ड, जरिवाना, सजाय, र तुरुन्तै हटाउन ट्राफिक प्रहरी, सुरक्षा निकाय, र नगरपालिकाले समन्वय गरी पसल हटाउने र उक्त पसलेलाई कार्वाही गर्ने । धनी, गरिब, जात, वर्ग, उमेर, नाता, र सरकारी सम्बन्का आधारमा विभेद नगरी कारवाही गर्ने र दण्डहीनताको संस्कृतिलाई निर्मूल पार्ने ।
९. बजार, गाउँ, टोल सबैतिर सडक बत्ती जडान गर्ने । यदि बिग्रिएको खण्डमा २४ घण्टाभित्र मर्मत गर्ने व्यवस्था मिलाउने ।
१०.पसलमा खुला रुपमा रक्सी, गुट्का, खैनी, चुरोट, वा बिडी आदि बिक्रि वितरणमा रोक लगाउने । खुला चुरोट, बिडी, र रक्सी बिक्रि बितरणको लागि अनुमतिसहित अस्पताल, बिद्यालय, र मन्दिरबाट निश्चित दूरी अपनाएर छुट्टै ठाउमा ब्यवस्थापन गर्ने । १८ बर्ष नपुगेकालाइ बिक्रि बितरण गरेको पाइएमा कडा कार्बाही गर्ने ।
११. रात्रीकालिन बजार खोल्न सुरक्षा निकायसंग समन्वय गरि सुरक्षाको प्रत्याभुति ब्यापारी तथा जनतालाई दिलाउने ।
हाम्रो स्थानिय निकायले माथी भनिएका बुँदाहरु कार्यन्वयन गरे इटहरी एक व्यवस्थित शहर बन्नेमा दुइ मत छैन । यसकार्यलाई चुस्त दुरुस्त पार्न इटहरी क्षेत्रभित्र रहेका सम्पुर्ण विज्ञहरु, सिभिल, स्ट्रक्चरल तथा मेकानिकल इन्जिनियरहरु बीच परामर्श र गहिरो छलफल आवश्यक छ । त्यस छलफलबाट आएका योजनालाई नक्सामा उतारी कार्यान्वयन गर्ने हो भने हाम्रो इटहरी ‘नेपालकै ब्यवस्थित सुन्दर इटहरी’ बन्नेछ।