सुनसरी । मछिन्द्र फुटबल क्लबले १५ औँ इटहरी गोल्डकप फुटबल प्रतियोगिता जितेको छ । शनिबार भएको फाइनल खेलमा सगरमाथा युथ क्लब मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले उपाधी जितेको हो ।
जितसँगै मछिन्द्रले नगद १० लाखसहित ट्रफी प्राप्त गरेको छ । यस्तै सगरमाथाले ५ लाख र ट्रफी प्राप्त गरेको छ ।
मछिन्द्रको लागि खेलको चौथो मिनेटमा मलिक युसुफ र खेलको ८५ औँ मिनेटमा ओमुलाजा नुरैन हरिमले गोल गर्दै जित सुनिश्चित गरेका थिए ।
आजको फाइनल खेलको म्यान अफ द म्याच सगरमाथा युथ क्लबका कप्तान अशोक खवास घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडी सगरमाथा युथ क्लबका कुलदिप कार्की घोषित भए । उनले नगद १ लाख र ट्रफी प्राप्त गरे । यस्तै मछिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ठ गोल रक्षक, शनिस श्रेष्ठ उत्कृष्ठ डिफेन्डर, विशाल घलान उत्कृष्ठ मिडफिल्डर घोषित भए । यस्तै मलिक युसुफ उत्कृष्ठ फरवार्ड, सन्तोष न्यौपाने उत्कृष्ठ प्रशिक्षक घोषित भए । उनीहरुले जनही नगद २० हजार र ट्रफी प्राप्त गरे ।
सर्वाधिक गोलकर्ताको उपाधि चार गोल गरेका मछिन्द्रकै मलिक युसुफले जिते । उनले नगद २५ हजार पुरस्कार प्राप्त गरे । उदयमान खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका सविन घिमिरे घोषित भए । उनले ३२ इन्चको एलइडि टिभी प्राप्त गरे ।
प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई कोशी प्रदेश सरकारका वन वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डल र कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई लगायतले पुरस्कार तथा ट्रफी प्रदान गरे ।