इन्टरनेट अवरुद्ध भए ग्राहकले क्षतिपूर्ति पाउने

न्युजलय २२ फाल्गुण २०७९, सोमबार १२:१५ मा प्रकाशित

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७९ जारी गर्दै मोबाइल नेटवर्क वा इन्टरनेट सेवा अवरुद्ध भएमा ग्राहकले क्षतिपूर्ति पाउने व्यवस्था गरेको छ ।

प्राधिकरणले विनियमावली जारी गर्दै कुनै पनि बेला इन्टरनेट वा मोबाइल नेटवर्क अवरुद्ध भएमा सेवाप्रदायकले ग्राहकलाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको हो । प्राधिकरणले मोबाइल डाटा वा फिक्स्ड ब्रोडब्यान्ड तोकिएको समयमा नचलेमा सो समयको क्षतिपूर्ति ग्राहकलाई सेवाप्रदायकले दिनुपर्ने व्यवस्था गरिएको हो ।

प्राधिकरणले जारी गरेको दूरसञ्चार सेवाको गुणस्तरसम्ब्न्धी विनियमावली, २०७९ आगामी वैशाख १ गतेदेखि लागू हुनेछ । उक्त बिनियमावलीकाअनुसार क्षतिपूर्तिका लागि ग्राहक आफैंले मागदाबी गर्नुपर्नेछ । 

विनियमावलीकाअनुसार मोबाइल डेटा, भ्वाइस प्याक, इन्टरनेट प्याकलगायत ग्राहकले खरिद गरेको तर, प्रयोग गर्ने अवधीमा सम्बन्धित सेवा प्रदायकको सर्भिस डाउन भएर ग्राहकले सेवा लिन नपाएमा क्षतिपूर्ति दाबी गर्न पाउनेछन् ।

फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा पनि तोकिएको समयभन्दा धेरै समयसम्म नेटवर्क नचलेमा सेवा प्रदायकले ग्राहकलाई क्षतिपुर्ति दिनुपर्ने व्यवस्था गरिएको छ ।

उक्त क्षतिपूर्ति ग्राहकको सेवाको अवधी निशूल्क थप गर्ने वा महसुलमा दामासाहीले मिनाहा गर्ने व्यवस्था विनियमावलीमा गरिएको छ ।

फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटको सम्बन्धमा शहरी क्षेत्रमा न्युनतम चार घण्टादेखि ४८ घण्टा र ग्रामिण क्षेत्रमा २४ घण्टादेखि ७२ घण्टाभन्दा धेरै समयसम्म इन्टरनेट नचलेको अवस्थामा क्षतिपूर्तिको मागदाबी गर्न सकिने व्यवस्था गरिएको छ ।