काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप परिवर्तन गर्न शिक्षक र विद्यालय कर्मचारीलाई आग्रह गरेको छ ।
गत चैत २० दिनदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सामुदायिक विद्यालयमा भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा प्रभावित हुँदै आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले नेपाल शिक्षक महासङ्घका पदाधिकारीसँग यही वैशाख ५ गते बेग्लाबेग्लै भेट गरी जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका थिए ।
निकासकै सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल पूरा गर्न सकिने मागबारे मन्त्रिपरिषद्का प्रस्ताव पेस गर्ने तयारी गरेका बेला शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाले अन्योल उत्पन्न भएको छ ।