आए दुर्वासा घुम्दै राजमहल थियो अनौठो संयोग
प्रमुदितभै मातालाइ दिए निखिलमन्त्र त्यो अमोघ
चतुर्दिक् आभा दिनेशको देखि आकर्षण किन लियौ ?
न्यानो मातृ स्नेह खोजेथ्यो देहले गंगामा बगाइदियौ
कलियुगमा माताले प्रतिष्ठाको लागी पुत्र त्याग्दैनन् ।
पुगे जसै भब्यमहलका सभ्यमान्छेहरुको निकरमा
पार्थ थियो सर्बश्रेष्ठ धनुषधारी गुरुदेबको नजरमा
दिए चुनौती पार्थलाइ आफ्नै बाहुबलको मातमा
बिप्र, सोध्छन,राज कुन हो? जन्म्यौ कुन जातमा?
कलियुगमा शिक्षकहरुले गोत्र हेरी परिक्षा लिँदैनन् ।
माग्नुस ब्राह्मण भुमि,रत्न,धरामा भएका धन मान
अथवा सेवा चरणमा योग्य कुनै खुशीले गर्छु दान
सुने धर्तीमा तिमिसमान उद्भट छैन अर्को त्यागी
कुंडल–कवज दान माग्छु, देबराज फिरे भै अनुरागी
कलियुगमा देवताहरु मनुष्य सङ भिक्षा माग्दैनन् ।
समरको दिन उग्र,भयङकर, दृग् शब रथी महारथीको
रक्तनदी बग्यो अभिजनको बिधान कस्तो यो बधिको?
हनन यिनको गरे मुकुट निश्चित दुर्योधनको माथमा
जीवन दान भयो धर्मराजा माताको बचन छ साथमा
कलियुगमा धर्मराजाले जुवामा पत्नी राख्दैनन् ।
लिन्थे पार्थले अग्निसमाधी जयद्रथ अझै जिबितै थियो
उद्भ्रान्त थिए सबै, बिजय कुरुपतीको निश्चितै थियो
उदाए इस्ट देब फेरि दिपित, रिपुलाइ किन साथ यो ?
बाँचे पार्थ पुनस् आफ्नै रक्तबिजलाइ किन घात यो ?
कलियुगमा पिताहरु पुत्रलाई घात गर्दैनन् ।
गिरिधर रण पहिले खोल्यौ मेरो जन्म अनागत
धस्यो रथको पांग्रा धरामा गौ हत्याको श्राप अतः
भाइलाइ मारी कुन सुख पाउँछु? क्लेश मनमा अमित
निशस्त्रलाइ आदेश हननको होला तिम्रो लिला पुनित
कलियुगमा भगवानहरु महाराजको अर्धसत्यमा बहस गर्दैनन् ।
शैल्य लानुस जहाँ सुभ्र–अश्वरथमा छन महारथी
गाण्डीवधारी,सारथी जस्का जगत स्वामी लक्ष्मीपती
म बाहुबलमा लड्छु दिन्न कुरुपतीको सान गिर्न
बाण हान् पार्थ मर्नै आएको हो मित्र रिण तिर्न
कलियुगमा सुभटले निअस्त्रलाइ प्रहार गर्दैनन् ।
सुजन संग्रौला, इटहरी