एसिसी यु–१९ एसिया कपः अफगानिस्तान विरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

न्युजलय २४ मङ्सिर २०८०, आइतबार ०५:१८ मा प्रकाशित

काठमाडौं । एसिसी यु–१९ एसिया कपको दोस्रो खेलमा नेपालले अफगानिस्तान विरुद्ध टस जितेको छ। नेपालका कप्तान देव खनालले टस जितेर पहिले फिल्डिङ रोज्दै अफगानिस्तानलाई पहिले ब्याटिङको निम्ता दिएका हुन्।

नेपालले पाकिस्तान विरुद्ध खेलेका दुई खेलाडीलाई परिवर्तन गरेको छ। स्पिनर तिलक राज भण्डारी र विशाल विक्रम केसीलाई आज बेन्चमा राखेको छ। उनीहरूको स्थानमा तीव्र गतिका बलर हेमन्त धामी र ब्याटिङ अलराउन्डर दीपक बोहरालाई प्लेइङ ११ मा समेटेको छ।

दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा हुने खेलमा नेपाल अफगानिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न जित्नै पर्ने दबाब रहेको छ। 

आजको खेलमा नेपाल पराजित भएमा सेमिफाइनल सम्भावना सकिने छ। 

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो। अफगानिस्तान पनि भारतसँग ७ विकेटले पराजित भएको थियो।

समूहको अन्तिम खेलमा नेपाल मंगलबार भारतसँग खेल्ने छ।