काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई जेल हाल्न संघीय सरकारलाई चुनौती दिएका छन् । उनले भ्रष्टाचारीलाई सरकारले नै बचाएको आरोप लगाउँदै आफूले उठाएका विषय वस्तु गलत भए जेल हाल्न चुनौती दिएका हुन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर २८ स्थित काठमाडौं टावर परियोजनाबारे विभिन्न आदेश सामाजिक सञ्जालमा सार्वजनिक गर्दै मेयर बालेनले कानुन मिच्ने भ्रष्टाचारीहरूलाई बचाउन सरकार नै लागिपरेको दावी गरेका छन् । ‘यति धेरै कानुन मिच्ने भ्रस्टाचारीलाई बचाउने सरकार अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने?’ उनले लेखेका छन् । माथिको कुरा गलत भए मलाइ जेल हाल ।
मेयर बालेनले सोमबार मात्रै काठमाडौं महानगरपालिकाको सरसफाइ कर्मचारीहरूले तीन महिनादेखि तलब नपाएको भन्दै तत्काल उपलब्ध गराउन संघीय सरकारसँग माग गरेका थिए । एक हप्ताभित्र तलब उपलब्ध नगराए सबैलाई टुकुचामा गाडिदिने उनले चुनौती समेत दिएका छन् ।