इटहरी । महिनाको २० हजारको जागिरले घरखर्च चलाउन गाह्रो हुँदै थियो इटहरी १६ का अमितकुमार चौधरीलाई । एक छोरा र एक छोरीको लालनपालन र शिक्षाको दायित्व त छँदै थियो, त्यसमाथि बेलाबेलामा लिएको सापटी अनि ऋण नै १५ लाख हाराहारी पुगिसकेपछि उनी छटपटिए र निर्णय लिए, विदेश जाने ।
पैसा कमाएर घरको ऋण तिर्ने, दुई तले माटोको घरको ठाउँमा पक्की सानो चिटिक्क परेको घर बनाउने र छोराछोरी पढाउने सपना देखेर तीन वर्षअघि पोल्याण्ड गए उनी । अलिअलि ऋण तिदै थिए । बिचमा विदामा आएर गत चैतमा विदेश फर्के ।
फर्केको केही दिनमा गत वैशाख ५ गते राती उनले घरमा श्रीमती उषा चौधरीसँग फोनमा कुरा गरे । तर श्रीमानको आवाज सुनेको केही घण्टा पछि नै उषालाई अर्को खबर आयो – श्रीमान अमित दुर्घटनामा परी गम्भीर घाइते भएको खबर ।
श्रीमान विदेशमा शारीरिक पीडाले जति छट्पटाउँदै थिए, इटहरीमा श्रीमती उषा त्योभन्दा कम छटपटिमा थिइनन् । विभिन्न जटिल शल्यक्रिया पछि अमित अहिले बोल्न र खान सक्ने भएका छन् । तर आजका दिनसम्म पनि अस्पतालमै छन् । उनको कम्मर मुनीको भाग चल्दैन । डाक्टरहरुले कोसिस गरिरहेका छन् ।
तर अमितलाई आफ्नो स्वास्थ्यसँगै स्याहार गर्ने र सोधिदिने आफन्तको अभावले अत्यास लागेको छ । यता नेपालमा श्रीमतीलाई पनि श्रीमानले के खाए, कस्तो छ भन्ने चिन्ताले सताएको छ । ‘खाना पनि नेपालको जस्तो खान पाउनुहुन्न,’ उनी भन्छिन्, ‘हेर्नको लागि पनि नेपालीहरु त्यहाँ त्यती छैनन्, कतार दुबईमा भएको भए धेरै हुन्थे ।’
त्यसैले अमितलाई नेपाल ल्याउन पाए हुन्थ्यो भन्ने इच्छा परिवारको छ । ‘नेपालमा भयो भने हामीले स्याहार गर्न पाउँछौं,’ उषा भन्छिन् ।
अमितको अहिलेको शारीरिक अवस्थाका कारण उनलाई नेपाल ल्याउन ४० हजार युरो लाग्ने जनाइएको छ । त्यो भनेको झण्डै सात लाख नेपाली रुपैया । नेपाल ल्याएपछि थप उपचारको लागि थप पैसा व्यहोर्न सक्ने अवस्थामा परिवार छैन । ‘पुरानै ऋण १०–१२ लाख छ, कम्मर मुनीको भाग चल्दैन भनेपछि यहाँ काम गर्ने, कमाउने अवस्था पनि के कस्तो हुने हो, निको भए त राम्रो हुन्थ्यो,’ उषाको दुःखेसो छ ।
स्थानीय दीपक श्रेष्ठले अमितलाई नेपाल ल्याउनका लागि गएको वैशाखदेखि नै पहल थालेका थिए । उनलाई नेपाल ल्याउने पैसा नेपाल सरकारले दिनेमा उनी आशावादी थिए । विदेशीएका कामदारहरुप्रति सकारात्मक पहल गर्ने पार्टी सभापति सोहीअनुसार पोल्याण्ड हेर्ने बर्लिनस्थित नेपाली दुतावाससँग उनले सम्पर्क गरे । दुतावासले पनि नेपाल सरकारलाई चिठी लेखिदियो । श्रेष्ठ आफै पनि काठमाडौ धाएर वैदेशिक रोजगार बोर्डको ढोका ढक्ढक्याए । सुनसरीबाट निर्वाचित सांसदहरुलाई भने, तर पार लागेन ।
‘झण्डै तीन महिना झुलाएपछि सरकारले हिजो अस्ती सहयोग दिन नसकिने निर्णय गरेको जानकारी पाएको छु,’ उनी भन्छन्, ‘बोर्डले मन्त्रीसमेतको उपस्थितीमा यस्तो निर्णय गरेको भन्ने कुरा थाहा पाएको छु ।’
उनले सुनसरीबाट निर्वाचित रास्वपा सांसदहरु लालविक्रम थापा र अशोककुमार चौधरीलाई पनि पहल गरिदिन आग्रह गरे । चौधरीले केही पहल पनि गरे । तर नसकेको जवाफ दिएको श्रेष्ठले बताए । चौधरीले यो विषयमा विहीबारको संसदमा कुरासमेत उठाएका छन् ।
नेपाल सरकारले पैसा नदिए गैह्र आवासिय नेपालीहरुले सहयोग गर्ने एकमात्र आशा अब परिवारसँग छ । ‘कि त नेपालमा चन्दा उठाउन थाल्नुपर्यो, तर यो भनेको नेपालीको लागि दुर्भाग्यपूर्ण अवस्था हो,’ श्रेष्ठ भन्छन् ।
उनका अनुसार विदेशमा समस्यामा पर्ने नेपालीलाई स्वदेश फर्काउन राज्य यतिसम्म उदासिन हुनु दुःखद हो । ‘श्रम स्वीकृति लिएर, सबै शुल्क तिरेर रेमिटान्स पठाउने गरी विदेशीएका कामदारहरुलाई समस्या पर्दा राज्यले सहयोग नगर्नु दुर्भाग्यपूर्ण हो,’ उनी भन्छन्, ‘त्यसमाथि यस्तै समस्यामा परेका कामदारलाई सहयोग गर्ने गरी कामदारसँगै पैसा उठाएर राहत कोषसमेत सरकारले बनाएको छ, त्यो कोष नेपाली मजदुरकै काममा किन आउँदैन ?’
अमितको उपचारमा मात्रै नेपाली डेढ करोड बढी पैसा लागेको अनुमान छ । उनको दुर्घटना हुँदा उनको वर्क पर्मिट पनि सकिएकोले बीमा पनि उपलब्ध थिएन । आज वर्क पर्मिट आइसकेको छ, तर उनी काम गर्न सक्ने अवस्थामा छैनन् । उनको उपचार गउपचार भने त्यहाँको सरकारले मानवीयताको नाताले गरिदिएको श्रेष्ठ बताउँछन् । तर नेपाल ल्याउनका लागि नेपाल सरकारले गरेको वेवास्ता अस्वभाविक रहेको उनी बताउँछन् । भन्छन्, ‘राज्यले राज्य भएको अनुभुती दिन सकेको छैन ।’