एजेन्सी । नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले वैवाहिक सम्बन्ध गाँसेको घोषणा गरेकी छन् ।
बालिकाहरूको शिक्षा क्षेत्रमा काम गर्दै आएकी मलालाले आफ्नो आधिकारिक ट्विटरमार्फत् बेलायतमा आसिरसँग मुस्लिम परम्पराअनुसार निकाह गरेको घोषणा गरेकी हुन् ।
आफ्नो जिन्दगीको महत्वपूर्ण क्षण सार्वजनिक गर्दै २४ वर्षीया मलालाले आफ्नो जीवनको अमूल्य दिन भएको ट्वीटरमा लेखेकी छिन् । मलालाले आफ्नो श्रीमानबारे थप जानकारी उल्लेख गरेकी छैनन्।
मलाला युसुफजाईको जन्म पाकिस्तानमा भएको थियो। उनलाई सन् २०१२ मा बालिकाहरूको शिक्षा पाउने हकबारे बोलेको भन्दै तालिबान आतंकवादीहरूले गोली हानेका थिए। त्यति बेला उनी ११ वर्षकी थिइन्।
उनलाई त्यसपछि बर्मिङ्घमको अस्पताल लगिएको थियो। कयौं महिनाको शल्यक्रिया र पुनर्स्थापनापछि सन् २०१४ मा उनी बेलायतको नयाँ घरमा आफ्नो परिवारसँग बस्न थालेकी थिइन्। आफ्नो बुवाको सहयोगमा उनले मलाला कोष स्थापना गरिन् जसले बालिका शिक्षामा सहयोग गर्दै आएको छ।
कम उमेरमै बालिका शिक्षा क्षेत्रमा काम गरेबापत् उनको योगदानको कदर गर्दै सन् २०१४ डिसेम्बरमा मलालालाई नोबेल शान्ति पुरस्कार दिइएको थियो। उनी सबभन्दा कम उमेरकी नोबेल विजेता हुन्।