उदयपुर । उदयपुरमा खोलाले बगाएर हुलाक कार्यालयका कर्मचारीको मृत्यु भएको छ।
बुधबार(आज) उदयपुरगढी गाउँपालिका –८ बस्ने ५९ वर्षीय कृष्णबहादुर श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनी हुलाक कार्यालय नरेटारका अतिरिक्त पत्र वाहक कर्मचारी हुन्। आज बिहान उनको शव बैजनाथ खोलामा फेला परेको थियो।
प्रहरीका अनुसार उनी मंगलबार साँझ महादेवस्थानस्थित घर फर्किँदै थिए। फर्किने क्रममा बैजनाथ खोलाले उनलाई बगाएको थियो। उनको शव बगाएको स्थानबाट अन्दाजी एक किलोमिटर तल ढुंगाको चेपमा अड्किएको अवस्थामा फेला परेको थियो।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुर पठाएको जानकारी दिएको छ।