विराटचोक । एन्फामा असल नेतृत्व आवश्यक रहेको एन्फाका पूर्व अध्यक्ष गणेश थापाले बताएका छन् । कोशी प्रदेशका खेलप्रेमीहरुको समूहले मोरङको सुन्दरहरैंचा स्थित विराटचोकमा राखेको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष थापाले यस्तो बताएका हुन् ।
खेलाडीहरु धमाधम विदेश पलायन भइरहेकोमा खेलाडीहरुले देशमा बसेर देशको लागि खेल्न पाउनुपर्ने वातावरणको सिर्जना गर्नुपर्ने जोड दिए ।
उनले आफ्नो कार्यकालमा खेलाडीलाई कारदेखि अपार्टमेन्टसम्मको व्यवस्था गरेको सम्झँदै अहिले बजेट बढेको अवस्थामा पनि खेलाडीहरुले समयमा तलब र पुरस्कार पाउन नसकेको बताए । उनले नेतृत्वको कमजोरीका कारण खेलकुदमा काम गर्न नसकेको दाबी गर्दै पदाधिकारीको तलब वृद्धि गर्नेमात्र नभइ खेलाडीलाई पनि सेवा सुविधा वृद्धि गर्न तर्फ ध्यान केन्द्रीत गर्न उनले आग्रह गरे ।
हाम्रो अभियान, नेपाली फुटबलमा आमुल परिवर्तन नारा दिइएको कार्यक्रमका बोल्दै एन्फा पूर्व अध्यक्ष थापाले गलत कुराको मिडियाले समेत खण्डन गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक युबेन गुरुङले खेल क्षेत्रमा आमुल परिवर्तन गरी सक्षम नेतृत्व आवश्यकता रहेकाले खेलप्रेमीको भावना समेट्न यस कार्यक्रम आयोजना गरिएको बताए ।
फिफाले पूर्व अध्यक्ष थापालाई १५ वर्षको प्रतिबन्ध लगाएको छ । सन् २०१५ देखि प्रतिबन्धमा परेका थापाको प्रतिबन्ध फुकुवा हुन अझै २ वर्ष बाँकी छ । यद्दपी थापाले आफु नेतृत्वको लागि नभइ नेपाली खेलकुद क्षेत्रको विकासको लागि पदमा नरहेपनि आवाज उठाइरहने बताए । कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका खेलप्रेमी, पूर्व खेलाडी लगायतको बाक्लो सहभागिता रहेको थियो ।