काठमाडौँ । भारतमा जारी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेलमा आज भारत र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
भारत समूह चरणको शीर्ष स्थानमा र न्यूजिल्याण्ड चौथो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेका हुन् । खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।
सेमिफाइनलमा भारत, दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्यूजिल्याण्ड पुगेका छन् । छनोट भएकामध्ये अस्ट्रेलिया र भारत विश्वकपका पूर्वविजेता हुन् । दक्षिण अफ्रिका र न्यूजिल्याण्डले भने हालसम्म विश्वकपको उपाधि जित्न सकेका छैनन् ।
आइसीसीको रेकर्ड अनुसार अस्ट्रेलिया सर्वाधिक पाँच पटकको विश्वकप विजेता हो । भारतले पनि हालसम्म दुई पटक एक दिवसीय विश्वकपको उपाधि जितेको छ। समूह चरणको शतप्रतिशत खेल जितेको भारत ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट खेल पस्कँदै आएको छ।