इटहरी । इटहरीको फोहोर व्यवस्थापन गर्ने कम्पनि वेस्ट इन्भारो मेनेजमेन्ट प्रालिले पत्रकार प्रकाश तिम्सिनालाई धम्की दिएका छन् । ग्यालेक्सी फो के टेलिभिजनमा प्रकाशन भएको रिपोर्टलाई लिएर कम्पनिका अध्यक्ष मोहन भण्डारीले तिम्सिनालाई भौतिक आक्रमण गर्ने आशयको धम्की दिएका हुन् । नौ महिनाभित्र कार्य सम्पन्न गर्ने भनिएपनि साढे तीन वर्षमा पनि फोहोर व्यवस्थापनको काम सम्पन्न नभएको र करोड बढी रकम सकिइसक्दा पनि फोहोर प्रशोधनको काम सुरु नभएको विषयको समाचारमा आपत्ती जनाएका भण्डारीले तिम्सिनालाई धम्की दिँदै फोन गरेका हुन् । इटहरी उपमहानगरपालिका कार्यालय परिसरबाटै धम्की दिएका भण्डारीले फोनमा तुरुन्त नगरपालिका आउन ‘आदेश’ दिएका छन् । ‘नगरपालिका आऊ, तिम्रो फोटो सेभ छ, नत्र घर पत्ता लगाएर त्यहीँ आउँछु, म तिमीलाई छाड्दिनँ,’ उनले भनेका छन् । उनले तुरुन्त भुल सुधार गर्न भन्दै धम्की दिएका छन् । धम्की दिएपछि तिम्सिनाले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । घटनालाई लिएर प्रेस चौतारी सुनसरीले विज्ञप्ती निकाल्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । समाचार लेखेकै आधारमा पत्रकारलाई ज्यान मार्नेसम्मको धम्की दिनु प्रेस स्वन्त्रता र लोकतन्त्रको विरुद्धमात्र हैन यो नागरिकको मौलिक हकको हनन् र अपराध भएको उल्लेख गरेको छ । समाचारमा चित्त नबुझे कानूनी उपचारमा जान पाउने हरेक नागरिकको हक हुदाहुदै ज्यान मार्नेसम्मको धम्की दिनु निन्दनीय कार्य भएको उल्लेख छ । दोषीमाथि कारवाही गर्नसमेत माग गरिएको छ । सुन्नुहोस् अडियो :-