काठमाडौँ । नेपालमा चुरोटको प्रयोग घटेर राजस्वमै कमी आएको अर्थ मन्त्रालयले जनाएको छ । यसको लागि उसले इलेक्ट्रोनिक भेपको बढ्दो प्रयोगलाई कारक मानेको छ ।
चुरोटको उत्पादनबाट संकलन गरिने अन्तःशुल्क यो पटक ३२ प्रतिशतले कम संकलन भएको तथ्यांक छ । चुरोटपछि बियरको प्रयोग पनि घटेकाले त्यसको प्रत्यक्ष असर अन्तःशुल्कमा परेको मन्त्रालयको अनुमान छ ।
आन्तरिक राजस्व विभागकाअनुसार पुससम्म ६९ अर्ब रुपियाँ अन्तःशुल्क सङ्कलनको लक्ष्य रहेकोमा ४७ अर्ब रुपियाँ मात्र सङ्कलन भएको छ जुन लक्ष्यको ६८.२० प्रतिशत मात्र हुन आउँछ ।
पुसमा लक्ष्यको ३५ प्रतिशत न्यून आयकर सङ्कलन भएको छ । ७१ अर्ब रुपियाँ आयकर सङ्कलनको लक्ष्य राखिएकोमा पुसमा ४९ अर्ब ५९ करोड रुपियाँ मात्र आयकर सङ्कलन भएको तथ्याङ्क छ ।
छ महिनासम्मको लक्ष्यका आधारमा भने आयकर लक्ष्यको ९० प्रतिशत सङ्कलन भएको देखिन्छ । पुससम्म एक खर्ब २७ अर्ब आयकर सङ्कलन गर्ने लक्ष्य रहेकोमा एक खर्ब १५ अर्ब रुपियाँ सङ्कलन भएको थियो । अर्थ प्रशासन आयकरभन्दा पनि अन्तःशुल्कमा देखिएको गिरावटप्रति बढी चिन्तित देखिएको छ ।