धरान । यसपटक पनि बुढासुब्बा गोल्डकपको उपाधि न्युरोड टिम (एनआरटी) जितेको छ । यो जितसँगै उसले बुढासुब्बा गोल्डकपमा ह्याट्रिक गरेको छ ।
शनिवार धरान रङ्गशालामा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २ का विरुद्ध १ गोलले पराजित गर्दै एनआरटीले उपाधि कब्जा गरेको हो । एनआरटीले १० औँ र २४ औँ संस्करणमा पनि बुढासुब्बा गोल्डकपको उपाधि जितेको थियो ।
उपाधिसँगै एनआरटीले नगद १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता चर्च ब्वाइजले नगद ५ लाख पुरस्कार जितेको छ ।
खेलको २४ औँ मिनेटमा चर्च ब्वाईजका कप्तान अनन्त तामाङले हेड गोल गरेका थिए । त्यसको तीन मिनेटमै एनआरटीले बराबरी गोल फर्कायो । हेनरी पोकोले गोल गरेका थिए । हेनरीले एनआरटीका लागी ५८ औँ मिनेटमा अर्को गोल गरे । प्रतियोगिताको म्यान अफ द म्याच पोको घोषित भए ।
एनआरटीका शिशिर लेखी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद एक लाख पुरस्कार पाए । समान ३ गोल गरेका चर्च ब्वाइजका समीर तामाङ र अर्माण्ड भिदोंग हाइस्कोरर घोषित भए ।
बेष्ट गोल किपर एनआरटीका प्रमिजय गच्छदार, बेष्ट कोच एनआरटीका हरिओम श्रेष्ठ, बेष्ट फरवार्ड चर्च ब्वाइजका समीर तामाङ, बेष्ट डिफेन्डर चर्च ब्वाइजका पदम भट्टराई, बेष्ट मीड फिल्डर चर्च ब्वाइजका रोहन कार्की घोषित भए ।