धरानमा डेंगु महामारी : दलहरु जिम्मेवार नबन्ने ?

न्युजलय १४ साउन २०८०, आइतबार १०:५५ मा प्रकाशित

धरानमा डेंगुले महामारीको रुप लिइसकेको छ । अस्पतालहरु भरिएका छन् । दिनैपिच्छे मृत्युका खबरले आतंकित बनाइरहेको छ ।

कोरोनाभन्दा बढी डेंगुको महामारीका कारण धरान त्रस्त छ । यस्तो अवस्थामा धरान उपमहानगरपालिकाको सम्पूर्ण शक्ति डेंगु नियन्त्रणमा लगाउनुपर्ने हो । किनकी नगरवासी स्वस्थ भए भने मात्र नगरको सुशासन, विकास स्वस्थ हुन्छ ।

तर मेयर हर्क साम्पाङको प्राथमिकतामा अहिले यो संकट समाधानको विषय परेको छैन, जुन दुःखद् हो । उनी अझैपनि श्रम गरौं भन्दै रुख रोप्दै हिडिरहेका छन् । जबकी धरानका घरघरमा बिरामी ज्वरो र दुःखाइले छट्पटाइरहेका छन् । वृक्षरोपण राम्रो कार्य हो, तर धरानको अहिलेको प्राथमिकता रोगको प्रभावकारी उपचार र महामारी नियन्त्रण हो, वृक्षरोपण होइन । 

उपमहानगरपालिकाले केही कामहरु त गरिरहेको छ, तर त्यो पर्याप्त छैन । महामारी नियन्त्रणको लागि सबै नगर एकजुट हुनुपर्ने आवश्यकता छ । नगरवासी रहे नगर रहने हो । त्यसैले उपमहानगरपालिका र मेयर आफैले पनि आफ्नो सारा ध्यान र समय डेंगु नियन्त्रण र बिरामीको उपचारमा लगाउनु आवश्यक छ ।

यसका साथै, उपमहानगरले डेंगु नियन्त्रणमा प्रभावकारी काम गरेन भनेर अन्य राजनीतिक दलहरुले आरोप लगाइरहँदा ती राजनीतिक दलहरुले एक पटक आफैतिर पनि फर्केर हेर्नुपर्ने आवश्यकता छ । 

राजनीतिक दल राजनीतिक उद्देश्य प्राप्तीको लागि निर्माण गरिएका संगठनहरु हुन् । तर राजनीति समाजबाट सुरु हुन्छ । नागरिकबाट सुरु हुन्छ । त्यसैले आम नागरिकको हित प्रबद्र्धन, सुरक्षा व्यवस्था र विकास राजनीतिक दलको एकमात्र उद्देश्य हुनुपर्छ । 

तर अहिले दलको उद्देश्य चुनाव जित्नु जस्तो मात्रै जस्तो देखिएको छ, त्यो गलत बुझाइ हो । पाँच वर्षमा कुन दलले, कुन उम्मेदवारले जनताको पक्षमा के काम गरे भन्ने कुरा मतदाताले सम्झेर चुनावमा अभिव्यक्त गर्ने हुन् । तर राजनीतिक दलहरु यो कुरा बुझेर पनि नबुझेजस्तो किन गर्छन् ? हो, सरकार भएकोले गर्दा उपमहानगरपालिका बढी जिम्मेवार हुनुपर्छ । तर राजनीतिक दलहरुले पनि हात बाँधेर बस्नु हुँदैन ।

चुनावको बेलामा जनताको खेत जोतेजस्तो गर्ने राजनीतिक दल, तरकारी केलाइदिएजस्तो गर्ने उम्मेदवारहरु नागरिकलाई समस्या पर्दा कता हराउँछन् ? चुनावका बेलामा जनताको घरमा खोले भात खाइदिने नेताहरु जनता बिरामी हुँदा घरमा पुगेर सान्त्वना दिन किन हिच्किचाउँछन् ? डेंगु नियन्त्रण अभियानमा आफ्नो तवरले अघि बढ्न के ले रोकेको छ ? 

मेयर साम्पाङले चुनावमा २० हजार मत ल्याएका थिए, तर काँग्रेस, एमाले र राप्रपा उम्मेदवारले ल्याएको मत जोड्ने हो भने ३० हजार पुग्छ । मेयरलाईभन्दा बढी जनताले यी तीन दलका उम्मेदवारलाई विश्वास गरेर मत दिएका थिए । त्यसैले धरानका राजनीतिक दलहरु पनि आफ्ना मतदाताप्रति जिम्मेवार हुनु आवश्यक छ ।

रह्यो कुरा, त्यसमा लाग्ने खर्चको । चुनावका बेलामा मतदातालाई बाँड्न निस्कने करोडौं रकम जनतालाई समस्या पर्दा किन निस्कँदैन ? चुनावमा बाँडेको मासुभातभन्दा त यतिबेला बाँडेको स्नेह र चासोको बढी अर्थ हुन्छ । 

त्यसैले डेंगु नियन्त्रण गर्न उपमहानगरपालिका जति जिम्मेवार हुनुपर्छ, राजनीतिक दलहरु त्यती नै जिम्मेवार र उत्तरदायि हुनुपर्छ । सबै मिलेर संकटको बेलामा प्रभावकारी योजना बनाइ अघि बढ्नु आवश्यक छ ।