घोडेटार । भोजपुरको हतुवागढी १ घोडेटारमा छैठौं भिमदल राई स्मृति हतुवागढी गोल्डकप सम्पन्न भएको छ ।
आइतबार सम्पन्न आम्तेक ११ फुटबल क्लब र घोडेटार फुटबल क्लबबीचको फाइनल खेलमा घोडेटार विजयी भएको हो ।
खेल सुरु भएको ३० औं मिनेटमा घोडेटार फुटबल क्लबका जर्सी नम्बर ११ खेलाडी अभिषेक बि.क. ले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
खेल अवधिभर दुवै टिमले रोचक साथै उत्कृष्ट खेल प्रदर्शन गरेतापनी घोडेटार फुटबल क्लबले मध्यान्तर अघि नै एक गोल गर्दै अग्रता लिएको थियो ।
फाइनल खेलको विजेता घोडेटार फुटबल क्लबले नगद रु.१ लाख ६६ हजार ६ सय तीसका साथमा रनिङ्ग शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गारेको छ भने उपविजेता टिम आम्तेक ११ फुटबल क्लबले नगद रु.१ लाख १ हजार ३० साथमा मेडल र प्रमाण–पत्र प्राप्त गारेको छ ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि आम्तेक ११ फुटबल क्लबका खेलाडी निरज थापा मगरले प्राप्त गरेका छन् भबे खेल अवधिभर उत्कृष्ट गोल रक्षकको उपाधी घोडेटार फुटबल क्लबका खेलाडी निरज चौधरीले प्राप्त गरेका छन् ।
भिमदल राई स्मृति प्रतिष्ठानको आयोजनामा पौष १ गते देखि जारी नकआउट चरणको खुल्ला पुरुष फुटबल प्रतियोगिता प्रदेश नम्बर १ का पूर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न गरिएको हो ।
विशिष्ट समाजसेवी स्वर्गीय भिमदल खालिङ राईको स्मृतिमा खुल्ला पुरुष फुटबल प्रतियोगिता अर्थात छैठौं भिमदल राई स्मृति हतुवागढी गोल्डकप २०७८ को आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रतिस्पर्धाको लागि विभिन्न ठाउँबाट १६ टिमको सहभागीता रहेको प्रतिष्ठानका सचीव शंकरहरी खालिङले जानकारी दिए ।
हतुवागढी क्षेत्रमा फुटबल साथै खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यका साथ हतुवागढी गोल्डकपको आयोजना गरिएको भिमदल स्मृती प्रतिष्ठान नेपालका संयोजक अनिल कुमार राईले बताए ।
प्रतिष्ठानका अध्यक्ष तेज बहादुर राईको अध्यक्षतामा सम्पन्न फाइनल खेल साथै पुरस्कार वितरण कार्यक्रममा विशिष्ट अतिथि एवं हतुवागढी गापा अध्यक्ष प्रेमकुमार राई, प्रतिष्ठानका संयोजक अनिल कुमार राई, प्रतिष्ठानका संरक्षक सानी राई, पौवादुम्मा गापा अध्यक्ष किरण राई, निर्वाचित वडाध्यक्षहरु चन्द्र बहादुर बिष्ट, कुमार बिष्ट, विचारी थापा, राजकुमार राई, जोरकुमार राई, जिला खेलकुद विकास समिती भोजपुरका अध्यक्ष प्रकाश बस्नेत, नेपाली कांग्रेस हतुवागढीका सभापति तथा हतुवागढी खेलकुदका अध्यक्ष बालकुमार राई, नेकपा माओवादी केन्द्र हतुवागढीका अध्यक्ष श्याम हाङ्खिम राई, सगरमाथा माविका प्रधानध्यापक हेमराज न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
प्रत्येक दुई-दुई वर्षको अन्तरालमा सञ्चालन हुँदै आएको उक्त गोल्डकप कोरोना संक्रमणका कारण अघिल्लो वर्ष सञ्चालन हुन सकेको थिएन ।