कोशी प्रदेशसभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य

न्युजलय ६ चैत २०८१, बिहिबार ११:५० मा प्रकाशित

विराटनगर । कोसी सरकारले प्रदेशसभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य गर्ने निर्णय गरेको छ । 

बिहीबार राति १२ बजेबाट अधिवेशन अन्त्य गर्ने निर्णय भएको कोसी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता रेवती रमण भण्डारीले जानकारी दिए ।

उनका अनुसार, बैठकले कोसी प्रदेश जनस्वास्थ्य नियमावली, २०८१ समेत स्वीकृति गर्ने निर्णय गरेको छ । त्यस्तै, समस्याग्रस्त सहकारी संस्था वा संघ व्यवस्थापन समितिको सदस्यसचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि एक करोड २८ लाख ६० हजार रकम बाँडफाँट गर्न स्वीकृत प्रदान प्रदान गरिएको छ ।

बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानका लागि अनुमानित सीमा एक अर्ब ५० करोड तथा राजस्व बाँडफाँटको अनुमान सीमा एक अरब १० करोड स्वीकृत गर्ने समेत निर्णय गरेको छ ।

बैठकले उच्च तथा जिल्ला अदालत सुदृढीकरणका लागि एक करोड ५० लाख बाँडफाँट गर्न स्वीकृत प्रदान गरेको मन्त्री भण्डारीले बताए ।

राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको संगठन संरचना तथा दरबन्दी तेरिज, २०८१ पनि बैठकले स्वीकृत गरेको छ ।