काठमाडौँ । मनाङको हिम्लुङमा आइतबार हिम पहिरोमा परेर सम्पर्कविहीन भएकाहरू मध्ये दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ घर भएका क्षेपी भोटे र सोही गाउँपालिकाको वडा नम्बर–२ घर भएका ३१ वर्षीय पासाङ भोटे छन् । उनीहरूको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।
कैलाश हेलिकप्टरमार्फत शव काठमाडौँको त्रिवि शिक्षण अस्पताल ल्याइएको हो । मृतक दुवैजना टुरिष्ट गाइड हुन् ।
हिम पहिरो खसेको क्षेत्रमा खोज तथा उद्धार जारी छ । सो क्षेत्रमा केही मानिसहरू सम्पर्कविहीन भएका छन् । हिम पहिरो नार्पाभूमि गाउँपालिका–५ मा गएको हो ।