खोटाङ । बाढीले बगाउँदा खोटाङमा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीले बगाएर नेर्पामा एक महिला र बाक्सिलामा एक वृद्धको ज्यान गएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित माम्खाकी ४३ वर्षीया शान्ता राईलाई घर नजिकै छाङ्गे खोलामा मृत अवस्थामा भेटिएको थियो । यस्तै, केपिलासगढी गाउँपालिका–४ बाक्सिला गैरी गाउँस्थित ७१ वर्षीय पर्शुराम परियार खहरे खोल्सा तर्नेक्रममा बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार साउन २ गते अपरान्ह ४ बजे घरबाट हिँडेकी शान्ता राई घर नर्फिएपछि खोजी गर्ने क्रममा घर नजिकै ५० मिटरको दुरीमा रहेको छाङ्गे खोलामा मृत फेला परेकी थिइन् ।
यस्तै, साउन २ गते साँझ ७ बजे पर्शुराम परियारलाई खहरे खोल्साले बगाएर १०० मिटर तल झारेको अवस्थामा आफन्तले मृत भेटाएको प्रहरीले जनाएको छ ।