कोइला खानीमा विस्फोट हुँदा ३० जनाको मृत्यु

न्युजलय ६ असोज २०८१, आइतबार ०२:३५ मा प्रकाशित

काठमाडौँ ।  पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढीको अवस्था अज्ञात छ। 

खानी रहेको दक्षिण खोरासान प्रान्तका गभर्नर जावाद घेनातले सरकारी टेलिभिजनलाई बताएअनुसार उद्धार टोलीले फसेका २२ जना कामदारलाई उद्धार गर्ने काम गरिरहेको छ।

स्थानीय समयअनुसार शनिबार राति भएको विस्फोटमा परी अन्य १७ जना घाइते भएको इर्नाले जनाएको छ।

मिथेन ग्याँसको चुहावटका कारण खानीको दुई ब्लकमा विस्फोट भएको बताइएको छ। सरकारी टेलिभिजनले घाइतेलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स र हेलिकप्टर घटनास्थलमा पुगेको फुटेज प्रसारण गरेको छ।

इर्नाले सार्वजनिक गरेको अनलाइन फुटेजमा केही पीडितको शव खानीको ठेलामा राखेर घटनास्थलबाट बाहिर निकालिएको देखिएको छ।