ह्युमन पापिलोमा भाइरस (एचपीभी) नामक भाइरसको संक्रमणबाट छालामा आउने रोग लाई हामी सामान्य भाषामा मुसा भन्दछौ ।
मुसा आउनुलाई अंग्रेजीमा वाट्स अथवा भेरुका भल्गारिस पनि भनिन्छ । यसका सयौं प्रजातीका कारणले शरीरको विभिन्न ठाउँमा मुसा आउने गर्दछ । सामान्यतया हात, खुट्टा वा गर्धनमा मुसा देखापर्दछ ।
मुसाले शरीर भित्र कुनै हानी गर्दैन तर यो भाइरसबाट हुने भएकाले एक ठाँउबाट अर्को ठाँउमा सर्ने, संख्या र आकार दुवै बढेर जाने हुन्छ । अरुमा सर्ने सम्भावना पनि बढी हुन्छ । आफ्नै शरीरमा पनि एक ठाँउबाट अर्को ठाँउमा सर्ने हुँदा यसको उपचार गर्नु उचित हुन्छ । प्रतिरोधात्मक क्षमता बलियो छ भने त्यस्ता व्यक्तिमा मुसा सर्ने संभावना धेरै कम हुन्छ ।
कतिपय अवस्थामा दाह्रि काट्दा पुरुषमा समेत यो सर्न सक्छ । तसर्थ मुसा चलाएपछि हात राम्रोसँग धुनु पर्दछ । हात वा औला चुस्ने वा नङ टोक्ने बानी छ भने त्यसलाई त्याग्नु पर्दछ । जिम, स्विमिङ्ग लगायतका सार्वजनिक स्थलमा प्रयोग गरीने तौलिया वा रुमाल निजि प्रयोग गर्ने । तर मुसाको मात्रा र प्रकार हेरेर तत्काल चिकित्सकसंग परामर्श लिनु नै उत्तम हुन्छ ।
उपचार
स–साना वा हातखुट्टामा आउने मुसा केहि समयपछि आफैँ निको हुने गर्दछ । तर, पैताला वा हत्केलामा आएको वा यौनांगमा आउने र अनुहारमा आउने मुसाहरु भने आफैं निको हुँदैनन् । यस प्रकारको मुसा सरुवा रोगका कारणले हुने गर्दछ ।
शरीरमा मुसा देखियो भने सुरुमा औषधि लगाउनु पर्छ । औषधि लगाउदा एक महिनामा सुधार भयो भने त्यहि औषधि नै लगातार प्रयोग गरिन्छ । तर औषधिले काम गरेन भने यसलाई अन्य उपचार बिधिले हटाउने गरिन्छ ।
यदि शरीरमा धेरै मुसा भएमा र यी उपचार विधिबाट पनि हटाउन संभव नभएमा लेजर थेरापीबाट हटाउन सकिन्छ । साथै होमीयोप्याथिक औषधि पनि यो समस्यामा लाभदायक मानिन्छ ।
मुसालाई कहिले पनि धारिलो हतियारले काट्नु हुँदैन । काट्दा मासुको भाग गएता पनि भाइरस जिवितै रहन्छ । यसो गर्दा मुसा फेरि दोहोरीएर आउन सक्छ । काट्दा मुसाबाट एक किसिमको पानी जस्तो चोप निस्कन्छ । त्यो चोप नै सर्ने माध्यम बन्न पुग्छ । तर मुसा रगतबाट भने सर्दैन । योनाङ्गमा आउने मुसा पनि हुन्छ । सामान्य मुसा भन्दा यो भिन्न प्रकारको हुन्छ । यसको उपचार अलि कठिन छ साथै यो धेरै सर्ने पनि हुन्छ ।