काठमाडौं । युरोकप २०२४ को छनोटमा फ्रान्सले जिब्राल्टरलाई १४–० ले हराएको छ ।
समूह बी अन्तर्गत शनिबार राति भएको खेलमा फ्रान्सका लागि केलिएन एमबाप्पेले ह्याट्रिक गरेका छन् । खेलमा फ्रान्सका ९ फरक खेलाडीले गोल गरेका थिए । जिब्राल्टरका खेलाडीले एक आत्मघाती गोल पनि गरे ।
फ्रान्सले दुवै हाफमा ७–७ गोल गरेको थियो । फ्रान्सको फुटबल इतिहासमा यो सबैभन्दा ठूलो जित हो ।
खेलको तेस्रो मिनेटमै एथान सान्तोसले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता लिएको थियो । लगत्तै चौथो, १६औं मिनेटमा गोल गर्यो । १८ औं मिनेटमा सान्तोसले रातो कार्ड पाएपछि जिब्राल्टर दश खेलाडीमा समेटियो । त्यसपछि फ्रान्सले ३०औं, ३४औं, ३६औं, ३७औं, ६३औं, ६५औं, ७३औं, ७४औं, ८२औं, ८९औं मिनेटमा गोल गर्यो ।
फ्रान्स समूह बी मा ७ खेलबाट २१ अंक जोडेर शीर्ष स्थानमै छ । लगातार ७ खेल हारेको जिब्राल्टर अंकविहीन छ ।