पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवकको शव भेटियो

न्युजलय ६ बैशाख २०८१, बिहिबार १२:३८ मा प्रकाशित

काठमाडौँ ।  सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ ।

धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको बताइएको छ । शव भेटिए पनि उनको पहिचान बुधबार मात्र खुलेको थियो ।

अप्रिल ६ मा मोन्तिजोस्थित समुद्रमा सामुद्रिक खाना खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए । उनीसँगै समुद्रमा गएका धादिङ नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको समुद्रमा डुबेर मृत्यु भएको थियो ।

परिवारको आग्रहमा दुवैजनाको शव नेपाल पठाउन लागिएको र यसका लागि कागजीलगायत आवश्यक प्रक्रियाको तयारी भइरहेको गैरआवासीय नेपाली संघ पोर्चुगलले जनाएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा चार महिनाअघि क्रोसिया आएका टेकबहादुर एक महिनाअघि मात्रै पोर्चुगल आएका थिए ।