काठमाडौँ । बिर्तामोडमा आयोजित एक कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले आफूविरुद्ध घृणा फैलाउने अभिव्यक्ति दिएको प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेले आरोप लगाउँदै आपत्ति जनाएका छन् ।
एक प्रेस नोट जारी गर्दै घिमिरेले लामिछानेले ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भन्ने अभिव्यक्तिमार्फत व्यक्तिगत आरोप र घृणा फैलाएको बताएका छन् ।
लोकतान्त्रिक अभ्यासमा उम्मेदवार वा दलले आफ्ना कार्यक्रम, योजना र एजेन्डा प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै घृणा र विभाजन फैलाउने प्रवृत्ति दीर्घकालसम्म टिक्न नसक्ने उनको भनाइ छ ।
घिमिरेले संसदमा हरेक सदस्यलाई बोल्ने अधिकार भए पनि संसदीय अभ्यासअनुसार वक्ताहरूलाई समान अवसर दिन समय निर्धारण हुने स्पष्ट पारेका छन् ।