बेलबारी नगरपालिकाका निवर्तमान मेयर ज्ञानेन्द्र सुवेदी यतिखेर प्रदेश सभा सदस्यको लागि उम्मेदवार बनेका छन् । नेकपा (एमाले) बाट उनी प्रदेश सभा सदस्यको लागि मोरङ क्षेत्र नं. ३ को २ बाट चुनावी मैदानमा उत्रिएका हुन् । बेलबारीका भिजनरी र सफल मेयरको रुपमा चर्चा गरिएका सुवेदी उत्साहित छन् । हामीले उनीसँग चुनावी माहोलका विषयमा गरेको कुराकानी यस्तो छ –
हिजो बेलबारी नगरपालिकाको मेयर हुनुहुन्थ्यो, अहिले प्रदेशसभा सदस्यको उम्मेदवार हुनुभएको छ ? जनतामा जाँदाको अनुभूति के छ ?
हिजो मेयर भएर ५ वर्ष काम गरिरहँदाका क्षणहरुलाई जनताले नजिकबाट प्रत्यक्ष रुपमा जोडिएर जाने खालको अवस्था थियो । जनतासँगै दैनिक जोडिनुपर्ने थलो भनेको स्थानीय तहको जिम्मेवारीमा रहँदा हुन्छ नै । अहिले प्रदेशसभा सदस्यको उम्मेदवार भइरहँदा जनताले हिजो गरेका कामहरु हेरेर काम गर्ने उम्मेदवारका रुपमा मलाई बुझिदिनुभएको छ ।
सबै मतदातामा उत्साह थपिएको अनुभूति पाइरहेको छु । हिजो गरेका कामले उहाँहरुको मन छोएको छ । हिजो संकटको अवस्थामा पनि मुलुकमा संघीयताको पहिलोपटक अभ्यास गरिरहेका थियौं । कतिपय कुरा स्पष्ट थिएन । अढाइ वर्ष त हामीलाई कोभिडले थला पा¥यो ।
तथापि बाँकी अढाइ वर्षमा सम्पर्क, व्यवहार र नगरपालिकाले गरेको कार्यक्रम र योजनाहरुले अहिले एकदमै मतदाताहरुमा मप्रतिको उत्साह, सहमनुभूति, माया र चाहिं बढी नै पाएको छु । समग्रमा भन्दा म उम्मेदवार भइरहँदा सिंगो एमाले र यहाँका मतदाता खुसी भएको देख्छु ।
प्रदेशसभा सदस्य भएर निर्वाचित हुनुभयो भने के के गर्नुहुन्छ ?
खास गरेर विकास निर्माणका कुरा अनि सम्पर्क सम्बन्धका कुरा । यी काम गर्नका लागि नीति बनाउने, कार्यक्रमहरु ल्याउन प्रयत्नशील रहने नै हो । मुलुक संघीयता प्रवेश गरेपछि अझै पनि केही पुराना चरित्रका कुरा छन्, तीनलाई सुधार्न आवश्यक छ, कतिपयलाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने छ । त्यसमा पनि विकासको मोडालिटीको कुरा छ । विकाससँग जोडेर हेर्दा स्थानीय तह, प्रदेश र संघ छन् । यी तीन तहको बिचको भूमिका प्रष्ट्याउनुपर्ने देखिन्छ । तीन तहमा बजेटको कुरा, नीति निर्माणको कुरा, कानुनको कुरा र कार्यक्रमको कुरामा समन्वय र सहकार्यको कुरालाई जोडेर जानुपर्ने देखिन्छ । आ–आफ्नो तहको भूमिका र जिम्मेवारीको कुरा जनतालाई बुझाएर जानुपर्ने देखिन्छ । प्रदेश सभामा पुगेपछि मेरो भूमिका पनि त्यही हुनेछ । आफ्नो निर्वाचन क्षेत्रमा बजेट ल्याउने कुरा त छँदैछ, प्रदेशलाई अझ व्यवस्थित बनाएर स्थानीय तह र केन्द्रिय सरकारसँग समन्वयकारी भूमिका निभाउनेछु । स्थानीय तहको आय आर्जन कसरी बढाउन सकिन्छ र त्यसमा प्रदेश सरकारले कसरी अभिभावकत्व लिन सक्छ भन्ने विषयमा विचार गरी स्थानीय सरकारलाई सक्षम बनाउने तर्फ मेरो भूमिका रहनेछ ।
तपाईँ मेयर भएर निर्वाह गरेको भूमिकाले प्रदेशसभा सदस्यलाई कत्तिको सहयोग गर्छ ?
निश्चय नै धेरै सहयोग गर्छ । हिजो मेयर हुँदा निर्वाह गरेको अनुभवले कानुन निर्माणदेखि लिएर विकास निर्माणका सवालमा होस् या स्रोत र साधनको कुरामा धेरै सहयोग पुग्छ । नगरपालिकाले तय गर्ने कार्यक्रम र नीतिका कुराहरुले गर्दा अब प्रदेशमा निर्वाचित भएर गइरहँदा नीति निर्माणदेखि पालिका र संघसँग समन्वय र सहकार्य गर्ने विषयमा हामीलाई सहज हुनेछ । यतिमात्र होइन तीन तहबीचको समन्वयकारी भूमिका निर्वाह गर्दै अरु दातृ संस्थाहरुलाई जोडेर जाने सवालमा पनि सहज हुन्छ । यो उपलब्धिपूर्ण पनि हो ।
कतिपय स्थानमा हिजोका प्रदेशसभा सदस्यहरुको मोह स्थानीय तहतर्फ देखियो, सायद बजेटका कारण होला । तपाईँले चाहिं प्रदेशसभा सदस्य रोज्नुभयो किन ?
हामी संघीयताको अभ्यासमा नै छौं । यो बुझाइको कुरा पनि हो । पहिलो ५ वर्षको अभ्यासले हामीमा अहिले पनि धेरै कुरा क्लियर हुनुपर्ने अवस्था देखिन्छ । संविधानले व्यवस्था गरेको कुराको क्लियारिटी अब तीनवटै तहमा हुनुपर्छ भन्ने लाग्या छ । तीनै तहमा एकल अधिकारको कुरा छ, साझा अधिकारको कुरा छ । यसलाई मिहिन ढंगबाट बुझेर जाने र कार्यान्वयनमा लैजाने हो भने सबै तहको आफ्ना आफ्नै भूमिका छन् ।
बजेटका कुरा भनेको खास गरेर कार्यान्वयनको तहमा स्थानीय तहले नै गर्नुपर्ने हुन्छ । ठूल–ठूला कुरा संघले नै गर्ने हो । केही प्रदेशस्तरीय निर्माण विकास गर्ने, पालिकाहरुलाई १४ वटै जिल्लाको भुगोललाई हेरेर नीतिगत रुपमा व्यवस्थापकीय हिसाबले, क्षेत्रगत हिसाबले जस्तै कृषि, शिक्षा, स्वास्थ्य, विकास निर्माण पूर्वाधारलगायतका काम गर्ने हो ।
जहाँसम्म मैले रोजेको विषय उठाउनुभएको छ, हामीले प्रदेशस्तरीय योजनाहरु अघि सार्नुपर्ने छ । सोही अनुसारको स्रोत साधन जुटाउँदै हाम्रो क्षेत्रको विकास गर्नुछ । यहाँका जनताको जीवनस्तर उकास्ने किसिमका नीति निर्माण गर्नुछ । त्यसो गर्न सक्दा मात्र हामी चाँडोभन्दा चाँडो समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय अभियानलाई सार्थक बनाउन सक्छौं । यसका लागि बजेटको मात्र कुरा आउँदैन, मानवीय संशाधनको कुरा, नीति निर्माणको कुरा सामाजिक क्षेत्रका कुराहरु पनि आफैं जोडिएर आउँछन् ।
सबै उम्मेदवार मत माग्न व्यस्त हुनुहुन्छ । सबैको विश्वास जित्ने नै हो ? प्रतिस्पर्धीलाई कसरी हेर्नुहुन्छ ?
लोकतन्त्रको सुन्दर पक्ष भनेकै यही हो । विभिन्न दल र उम्मेदवारहरुबिचको प्रतिस्पर्धाबाट जनताको अभिमत बढीभन्दा बढी लिएर उत्तीर्ण हुने नै विजयी हुने हो । सबैका आ–आफ्नै एजेण्डा छन् । सबैका काम गर्ने शैली फरक फरक छन् । कस्को क्षमता कस्तो, कस्ले मौकामा के कति जनताको लागि काम गर्न सक्छ भन्ने जनताले राम्रोसँग बुझ्नुभएको छ । त्यसैले प्रतिपर्धीहरु जो जो भएपनि आफूले जित्ने जनताको मन हो । जनताबाट मत लिएर जनताको सेवामा समर्पित हो । त्यसैले प्रतिस्पर्धीहरुका बारेमा मैले कमेन्ट गरिरहन आवश्यक छैन ।