जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदनको चेतावनी

न्युजलय २१ कार्तिक २०८२, बिहिबार ०२:५१ मा प्रकाशित

काठमाडौँ ।  ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् । उनले गृहमन्त्रीलाई लक्षित गर्दै कडा शब्दमा आलोचना समेत गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्रीले जनताको भरोसा तोडेका आरोप लगाउँदै तत्काल कदम चाल्न चेतावनी दिएका हुन् । 

गुरुङले भनेका छन्, ‘तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएको छैन । 

देशभर ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा पनि तपाईं ‘जेनजीलाई कारबाही’ भन्ने आवाज मात्र सुन्ने गृहमन्त्री बन्नुभयो । यो राष्ट्रप्रतिको अपमान हो ।’

उनले गृहमन्त्रीलाई शहीदको बलिदान, नेपाली जनताको आशा र आँसु सम्झन आग्रह गरेका छन् ।

यसैगरी उनले जेनजीका माग पूरा नभएसम्म चुनाव हुन नदिने चेतावनी समेत दिएका छन् । उनले चेतावनी दिंदै भनेका छन्, ‘यदी नेपाली जनता र जेनजीका मागहरू सम्बोधन भएनन् भने यसपालीको चुनाव हुन दिइने छैन । अझै पनि गृहमन्त्रीको पदमा टाँसेर बस्नुभयो भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ ।’